विराटनगर । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख तथा उपसचिव मिक्मार तामाङ पक्राउ परेका छन्।
दोलखाको भीमेश्वर नगरपालिका–९ निवासी तामाङ ३ साउनमा बुद्ध एयरको विमानमार्फत विराटनगरबाट काठमाडौं जान लागेका बेला विमानस्थल सुरक्षा जाँचका क्रममा पक्राउ परेका हुन्।
यद्यपी प्रहरीले घटनाबारे जानकारी शुक्रबार सार्वजनिक गरेको हो।
उनको झोलाबाट एक हजार दरका ५१५ थान र पाँच सय दरका ३०० थान गरी कुल ६ लाख ६५ हजार रुपैयाँ बरामद भएको थियो।
रकमको स्रोतबारे सोधपुछ गर्दा सन्तोषजनक जवाफ दिन नसकेपछि विमानस्थल सुरक्षामा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको थियो।
मोरङ प्रहरीका अनुसार बरामद नगदको स्रोत खुल्न नसकेकाले घटनाबारे थप अनुसन्धान भइरहेको छ ।