Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

एक सातापछि सवारी चालक अनुमतिपत्रको परीक्षा खुल्ने

काठमाडाैं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा अब भने खुला हुने भएको छ। कोरोना महामारीले नौ महीनादेखि रोकिएको लाइसेन्सको परीक्षा सम्बन्धित प्रदेश कार्यालयले एकैपटक लाइसेन्सको परीक्षा खुला गर्ने गरी आवश्यक तयारी गरिरहेकोले १५ पुसपछि खुल्ने भएको हो।

कोरोना महामारीका कारण ११ चैत २०७६ पछि बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा अब एक सातापछि खुल्ने भएको छ। सवारी चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फाराम दर्ता सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गततका यातायात कार्यायलबाट हुने भएकोले सोही अनुसारको आवश्यक व्यवस्था मिलाउने तयारी भइरहेको छ।

लाइसेन्सको परीक्षा र प्रयोगात्मक परीक्षा (ट्रायल) लिने विषयमा आवश्यक तयारी भएको र औपचारिक निर्णय मात्रै हुन बाँकी रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए।

उनका अनुसार सात वटै प्रदेशमा एकैपटक अनलाइन र  प्रयोगात्मक परीक्षा (ट्रायल) खुलाउने काम एक सातामा नै हुन्छ। अर्को साता (१५ पुस) पछि सवारी चालक अनुमति पत्र दुवै प्रकारकाे सवारी साधन (चारपाङ्ग्रे र दुईपाङ्ग्रे)को परीक्षा खुल्ने गरी तयारी भइरहेको पनि भुसालले बताए।

भुसालका अनुसार अनलाइन प्रणालीबाट  परीक्षा लिने गरी आवेदन खुला गर्ने भएपनि परीक्षा लिने र ट्रायल गरान सक्ने आधारमा दैनिक परीक्षाको कोटा भने सम्बन्धित यातायात कार्यालयले नै तोक्ने छन्।

आवेदन सबैले दिन पाउने भएपनि दैनिक क्षमता अनुसार मात्रै सेवाग्राहीलाई सेवा दिने भुसालले जानकारी दिए। सवारी चालक अनुमति पत्रका लागि सातै वटा प्रदेशमा कार्यालय रहेको छ। काठमाडौं उपत्यकाको लागि भने तीन वटा कार्यालय छ।

सबै कार्यालयबाट अनलाइनमार्फत् आवेदन दिन र सवारी चालक अनुमतिपत्रको परीक्षा दिन सकिने छ। अब लिने सवारी चालकको परीक्षाबाट लाइसेन्स पनि छिटो दिने गरी व्यवस्था मिलाइने यातायात व्यवस्था विभागले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077