विराटनगर । प्रदेश १ मा अविश्वासको प्रस्ताव आइतबार दर्ता भएसँगै मुख्यमन्त्री शेरधन राई अल्पमतमा परेका छन् ।
मुख्यमन्त्री राई अल्पमतमा परेसँगै दुवै समूहको तानातानमा कांग्रेस परेको छ । अविश्वासको प्रस्ताव असफल बनाउन मुख्यमन्त्री राई समूहले र प्रस्ताव सफल बनाउन दाहाल–नेपाल गरी दुवै समूहले कांग्रेसलाई रिझाउन थालेका छन् ।
मुख्यमन्त्री राईले कांग्रेसको सहयोगबिना अविश्वासको प्रस्ताव सामना गर्न नसकिने बताइसकेका छन् । ‘लोकतन्त्र, गणतन्त्र, संघीयता र संविधानको रक्षाका साथै प्रदेशको समृद्धि र विकासका लागि कांग्रेसलाई साथ लिई सरकार पुनर्गठन गर्छौं,’ उनले भने, ‘सरकार पुनर्गठन अविश्वासको प्रस्ताव असफल गराएर पनि हुन सक्छ र त्योभन्दा अगाडि पनि अवस्था हेरेर हुन्छ ।’
नेकपाको कुल ६७ जना प्रदेशसभा सदस्यमध्ये मुख्यमन्त्री राईसँग अहिले २३ जना प्रदेशसभा सदस्यमात्रै खुलेका छन् । प्रदेशसभा सदस्य राजकुमार ओझा र कृष्णकुमारी राई पर्ख र हेरको अवस्थामा छन् । प्रदेशसभा सदस्य गुलेफुन खातुन सरकारी कागज किर्ते मुद्दामा उच्च अदालत विराटनगरले दोषी ठहर गरेदेखि फरार छन् । कान्तिपुर दैनिकबाट