काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले अर्थमन्त्रीले विवादास्पद बीवाईडी गाडी आयातको निष्कर्ष नआउन्जेल पदबाट राजीनामा दिनु उचित हुने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत सांसद साम्पाङले उक्त प्रकरणको निष्पक्ष छानबिन सुनिश्चित गर्नका लागि नैतिक जिम्मेवारीका आधारमा अर्थमन्त्री स्वर्णिम वाग्लले पद छोड्नुपर्ने सुझाव दिएका हुन् ।
साम्पाङले भनेका छन्, 'बीवाईडी काण्ड टुंगो नलागुन्जेल अर्थमन्त्रीले राजीनामा दिए राम्रो हुन्छ।' बीवाईडी गाडी बजेट भाषणभन्दा अघि नै करको दर हेरफेर हुने सूचना चुहिएपछि हतार हतार जाँचपास गरेर नेपाल छिराइएको आरोप लागेको छ ।
उक्त सूचना अर्थमन्त्री स्वर्णिम वाग्लले चुहाएको आशंका गरिएको छ । उक्त विषयमा सरकारले छानबिन सुरु गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो ।
मुस्ताङको कोरला नाकाबाट भित्रिएका ७७९ वटा विद्युतीय सवारीसाधन प्रहरीले केही दिन अघि नियन्त्रणमा लिएको थियो ।