Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एक महिने स्वस्थानी ब्रतकथा शुरु, यस्तो छ विशेषता

    एक महिने स्वस्थानी ब्रतकथा शुरु, यस्तो छ विशेषता

    अनलाइन नेपाल
  • बिहिबार, १५ माघ २०७७
  • 2.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ ।

    प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ ।



    स्वस्थानी ब्रत बस्ने ब्रताहरुले अघिल्लो दिन अर्थात हिजोदेखि हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर प्रत्येक दिन बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गर्ने गर्दछन् ।



    बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने÷सुनाउने परम्परा छ ।

    स्वस्थानीको पूजा अवधिभर गोमा पुलबाट खसेको स्थान काठमाडौंको शालीनदीमा मेला लाग्ने गर्दछ ।

    प्रत्येक वर्ष शालीनदीमा भिड हुने भएपनि यो वर्ष भने कोरोनाको महामारीको कारण शालीनदी मेलाका लागि माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले बढीमा ५० जना व्रतालु राख्ने गरी व्रत पूजा सञ्चालन गर्ने जनाएको छ ।

    गत वर्ष व्रतालु सङ्ख्या ३०० भन्दा धेरै थियो । व्रतालुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दर्शन गर्न दूर दर्शनको व्यवस्था मिलाइएको छ भने व्रतालुहरु र भक्तजनहरुबीच दूरी कायम गराउनका लागि व्रत परिसरमा बार लगाएर ठाउँ खाली गरिएको छ ।

    साथै मेलामा आउने भक्तजनका लागि मास्क अनिवार्य गर्दै दूरी कायम हुने गरी सम्पूर्ण सुरक्षा र स्वास्थ्यलगायतका विषयमा तयारी पूरा भएको आयोजक समितिले जानकारी दिएको छ ।

    गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र) को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ ।

    त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्ने गर्दछ । राजधानीबाट उत्तरपूर्वको प्राचीन नगर शङ्करापुर नगरपालिकाको साँखुस्थित शालीनदीमा राजधानी तथा विभिन्न जिल्लाबाट आउने तीर्थयात्रीहरु मणिशैल किनारमा महिला तथा पुरुष स्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन् ।

    पार्वतीले श्री स्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ ।

    सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गर्नुभएको कथा स्वास्थानीमा उल्लेख छ ।

    व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेको खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । एक महिनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार