Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बीपी प्रतिष्ठानको घोटालामा नाम जोडिएपछि मन्त्रीले झपारे भिसीलाई, अग्रवाल र पण्डितको जालो तोड्लान ?

काठमाडौं। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भएको आर्थिक अनियमिततामा आफ्नो नाम जोडिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले  छानबिन प्रक्रिया अगाडि बढाएका छन्।

मन्त्री त्रिपाठीले प्रतिष्ठानमा भएको अनियमितताबारे उपकुलपति डा. ज्ञानेन्द्र गिरी र रजिस्ट्रार मोहनचन्द्र रेग्मीलाई गल्ती गरेको भए कारवाहीको भागिदार बन्न भन्दै चेतावनी दिएको मन्त्रालय स्रोतको भनाइ छ।

उनले नियमविपरीत गरेका क्रियाकलाप तत्काल बन्द गर्नसमेत निर्देशन दिएका छन्। तर, त्यो लागू हुन्छ कि हुँदैन भविश्यमा नै थाहा होला।

मन्त्री त्रिपाठीले आर्थिक अनियमिततामा संलग्न गिरी र रेग्मीलाई लिखित स्पष्टिकरण मागेका छन्।

प्रतिष्ठानले कोभिड अस्पतालमा औषधि र सर–सामान आपूर्ति गर्न बिनाटेन्डर करोडौंको ठेक्का दिँदा समेत मन्त्री त्रिपाठी मौन बसेको आरोप लागेको छ । अख्तियारको मुद्दा खेपिरहेका ठेकेदार चेतन अग्रवाल तत्कालीन उपकुलपति डा. बलभद्र दाससँग मिलेर लेखिएको मूल्यभन्दा महँगोमा सामान उपलब्ध गराएको मुद्दामा अदालत धाइरहेकै बेला उक्त गिरोहले नै बिनाटेन्डर करोडौंको ठेक्का लिन सफल भएको समाचार बाहिर आएको थियो।

निर्देशक गौरीशंकर साहको मात्र सिफारिसमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सोझै अग्रवाललाई ठेक्का दिएका थिए। गिरी उपकुलपति भएर आउनुअघि प्रतिष्ठान ३२ करोड रुपैयाँ घाटामा थियो। त्यसयता ८ महिनामा यसको घाटा बढेर एक अर्ब ७ करोड पुगिसकेको छ। तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले निजी अस्पताल सञ्चालक डा. गिरीलाई जेठमा प्रतिष्ठानको उपकुलपति बनाएका थिए।

ढकालले अग्रवालको गिरोह र गिरीसँग मिलेर करोडौ लाभ लिएका छन्। जुन बिषयमा अख्तियारले पनि अनुसन्धान गरिरहेको छ।

अग्रवाल र पण्डितको जालो

स्वास्थ्य मन्त्रालय मातहतका निकायहरुमा मा हुने ठेक्कामा अहिले पनि बिशाल पन्डितको गिरोह र अग्रवालको गिरोह हावी हुँदै आएको छ।

एकाघरका उमेशकुुमार अग्रवाल, चेतन अग्रवाल, पवन अग्रवाल, दिनदयाल अग्रवाल, अशोककुमार अग्रवालका कम्पनीहरुले मात्र टेण्डरमा भाग लिन पाउनेगरी स्पेक बनाउने गरिन्छ।  अग्रवाल दाजुभाइको बायोमेड इन्टरनेशनल, द मेडिकल सोलुसन, गर्ग डेन्टल कम्पनीलाई मात्र स्वीकृत हुनेगरी एक्लौटी ढंगले मिलेमतो गरी स्पेसिफिकेसन तयार पारेर मन्त्रालयमा ठुलो घोटाला हुँदै आएको छ।

अग्रवाल दाजुभाइका बाहेक अरु कुनै कम्पनीसँग नमिल्ने गरी प्राविधिक रुपमा स्पेसिफिकेसन तयार गरी लगत स्टीमेट तयार गर्दा अत्यधिक दररेट बढाएर लुटधन्दा हुँदै आएको छ।

त्यस्तै, औषधि खरिददेखि उपकरण खरिदमा सरकारी अस्पतालहरुबाट ठूलो भ्रष्टाचार हुने गरेको छ । मेडिकल माफिया र सरकारी अस्पतालका प्रमुखहरुको मिलेमतोमा औषधि र उपकरण खरिदमा मात्रै बार्षिक बीसौं करोड रुपैयाँ अनियमितता हुने गरेको छ ।

औषधि र उपकरण आपूर्तिमा हस्पिटेक इन्टरप्राइेजजका विशाल पण्डित र बायोमेड इन्टरनेशनलका उमेशकुमार अग्रवाल गिरोहको  दबदबा छ । उनीहरुले स्वास्थ्यका महाशाखा प्रमुख, महानिर्देशकदेखि सचिव समेत परिवर्तन गर्ने गर्दछन् ।

पण्डित र अग्रवालहरुले सरकारी अस्पतालका प्रमुखदेखि मन्त्रीसम्मलाई प्रभावमा पारी मेडिकल माफियाले लागत मूल्य भन्दा कयौं गुणा महंगोमा उपकरणदेखि औषधि सप्लाई गर्दै आएका छन् ।

मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, 'अहिले छानविनको कुरा चलेको छ। तर, अग्रवाल र पण्डित गिरोहलाई स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले  तह लगाउँछन् कि छानविनको हल्ला चलाएर उल्टै लाभ लिन्छन ?  त्यो भने केही समयपछि नै थाहा होला।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077