Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आज उपत्यकाका कुन-कुन ठाउँमा आउँदै छ मेलम्चीको पानी ?

    आज उपत्यकाका कुन-कुन ठाउँमा आउँदै छ मेलम्चीको पानी ?

    अनलाइन नेपाल
  • आइतबार, १५ चैत्र २०७७
  • 3.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ।  काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आजबाट मेलम्चीको पानी आउने भएको छ ।

    उपत्यकाका सीमित ठाउँमा मात्रै अहिले पानी आउन थाल्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ ।



    पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।



    उनका अनुसार खुमलटारमा नयाँ पोखरी र अरु तीन स्थानमा पुरानो पोखरी रहेका छन् । अहिले कतिपय सञ्चारमाध्यमले एकैपटक सबैतिर र ठूलो परिमाणमा पानी आउने भने पनि त्यो सत्य नभएको उनले जानकारी दिए  । उनले भने ‘पहिलो चरणमा केही स्थानमा मात्रै र थोरै पानी आउनेछ, विस्तारै क्षेत्र र परिमाण दुवैलाई बढाउँदै लगिनेछ ।’

    पहिलो चरणमा चार ठाउँमा गएपछि सुन्दरीजलबाट पानी दोस्रो चरणमा बालाजु पोखरीमा पठाइने लिमिटेडको तयारी छ । त्यसपछिको चरणमा महाराजगञ्ज र पानीपोखरी र बाँसबारी पोखरीमा पठाइने छ । अहिले पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण भए पनि विस्तारै दैनिक साढे छ करोड लिटर पानी भित्रिने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । उपत्यकामा पाइपको अवस्था हेरेर दैनिक साढे आठ करोड लिटर पानी आउनेछ । अहिले एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोडसम्म पानी आउनेछ । अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने उनले बताए । दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ । उनले भने, ‘त्यसका लागि अझै केही हप्ता लाग्न सक्छ ।’

    आजबाट तोकिएका चार पोखरीमा पानी भर्ने भनिए पनि  बीचमा पाइपमा समस्या आएमा नपठाउन पनि सकिने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । परीक्षण ठीक भएको पाइएमा मात्रै नियमितरूपमा पानी पोखरी हुँदै घरघरका धारासम्म पुग्नेछ । कुन स्थानमा पानी जाने कता नजाने र कुन–कुन समयमा पानी आउने भनी सम्बन्धित शाखाले आ–आफ्नो फेसबुक पेजमा राखिरहेको उनले बताए  । उनले भने, ‘ग्राहकले आ–आफ्नो शाखामा सम्पर्क गरेर पनि बुझ्न सक्नुहुन्छ ।’

    मेलम्ची खानेपानी आयोजनाले शुक्रबार सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणका लागि पानी पठाएको थियो । लिमिटेडले पानीको परिमाण बढ्दा चुहावट बढ्न सक्ने भएकाले त्यसको समेत तयारी गरेको छ । समस्या आउनासाथ सो स्थलमा पुग्नका लागि तयारी अवस्थामा एउटा समूह राखिएको शाक्यले जानकारी दिए । कुनै पनि ठाउँमा चुहावट हुँदा तत्काल मर्मतका लागि निर्माण व्यवसायी र आवश्यक सामग्री तयारी गरिएको छ । उनले भने, “हामीले सकेसम्म समस्या नआउने गरी वितरण गर्ने तयारी गरेका छौँ, आइहालेमा तुरुन्त समाधान हुनेछ ।’

    मेलम्ची खानेपानी आयोजनाले गत फागुन १० गते पानी परीक्षणका लागि सुरुङमा पठाएका थियो । त्यसको दुई सातापछि शनिबार पानी सुन्दरीजलसम्म आइपुगेको थियो । पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो । राष्ट्रिय गौरवको आयोजना निर्माणले दुर्ई वर्षयता गति लिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार