Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'कुख्यात अपराधी' चार्ल्स शोभराजले जेलभित्रबाट अन्तर्वार्ता दिएपछि...

काठमाडौँ। केन्द्रीय कारागार सुन्धारामा कैद चार्ल्स शोभराजको अन्तर्वार्ता विदेशी सञ्चारमाध्यममा प्रकाशित भएपछि त्यसबारे अनुसन्धान गर्न १० दिनको समय मागिएको कारागार प्रमुखले बताएका छन्।

चार दशकअघि नेपालमा अमेरिकी र क्यानडाली महिलाको हत्या गरेको अभियोगमा झन्डै १७ वर्षदेखि शोभराज केन्द्रीय कारागारको गोलघरमा रहेका छन् ।

शोभराजको जेलजीवन र उनका भावी योजनाबारे अन्तर्वार्तामा आधारित सामग्री आइतवार दुई बेलायती पत्रिकामा छापिएको थियो।

नेपाल प्रहरीबाट सेवानिवृत्त भएका एक वरिष्ठ अधिकारीले कारागारमा ठूलो सुरक्षा कमजोरी देखिएको भन्दै त्यस्ता कमजोरी तत्काल समाधान नगरिए भविष्यमा दुर्घटना निम्तिन सक्ने चेतावनी दिएका छन् ।

बिनाअनुमति कसरी लिइयो अन्तर्वार्ता ?

गृह मन्त्रालयले कुनै पनि कैदीले सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिन मिल्ने कानुनी व्यवस्था नभएको भन्दै त्यसबारे अनुसन्धान जारी रहेको बताएको छ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, 'गृह मातहतका कुनै पनि निकायले चार्ल्स शोभराजको अन्तर्वार्ता लिन कुनैपनि मिडियालाई अनुमति दिएको छैन।'

कारागार व्यवस्थापन विभागले शोभराजको अन्तर्वार्ताका लागि केही विदेशी मिडियाले अनुमति मागेको भए पनि नदिइएको जनाएको छ।

अन्तर्वार्ता छापिएपछि विभागले केन्द्रीय कारागारलाई 'तीव्र छानबिन' का लागि निर्देशन दिएको जनाएको छ।

शोभराजले कोसँग कुरा गरेका थिए ?

केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले भने, 'जेलभित्रबाट शोभराजको अन्तर्वार्ता कसरी सम्भव भयो भन्नेबारे छानबिन गर्न आइतवार नै सुरु हुने गरी १० दिनको समय पाएका छौँ र यस अवधिमा सत्यतथ्य पत्ता लाग्नेमा हामी विश्वस्त छौँ।'

प्रारम्भिक अनुसन्धानले शोभराजले आफन्त तथा परिवारका सदस्यलाई एक हप्तामा बढीमा दुई पटक टेलिफोन सम्पर्क गर्न पाउने आधारभूत अधिकारको दुरुपयोग गरेको हुनसक्ने बताइएको छ।

जेलर बाँस्कोटाले भने, 'शोभराजले परिवार, आफन्त वा साथीलाई फोन गरेर आफ्ना कुराहरू रेकर्ड गराएर मिडियासम्म पुर्‍याएको हुन सक्छन् र तर यसबारे यकिन भइसकेको छैन।'

त्यसका अतिरिक्त कारागारमा फ्रान्सेली भाषा अनुवादक नहुनुले पनि यस्तो समस्या निम्त्याएको उनको दाबी छ।

जेल प्रशासनका अनुसार कैदीबन्दीको भेटघाटको सीसीटीभी फुटेज अध्ययन तथा शोभराजलाई राखिएको गोलघरको निरीक्षण पनि गरिएको छ।

शोभराजलाई पछिल्लो समय आफ्ना वकिलबाहेक कसैले पनि कारागारमा नभेटेको कारागार प्रशासनको दाबी छ। स्रोत: बिबिसी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077