Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

'कुख्यात अपराधी' चार्ल्स शोभराजले जेलभित्रबाटै कसरी दिए अन्तर्वार्ता ?

एजेन्सी। अन्तर्राष्ट्रिय रूपमा कुख्यात अपराधी चार्ल्स शोभराजले एक ब्रिटिश पत्रिकालाई जेलभित्रबाटै कसरी अन्तर्वार्ता दिन सफल भए भन्ने विषय उनी रहेको कारागारको अनुसन्धानका क्रममा समेत प्रस्ट हुन नसकेको अधिकारीहरूले बताएका छन्।

चैत १४ मा एक ब्रिटिश पत्रिकामा प्रकाशित उनीसँगको अन्तर्वार्तामा आधारित भनिएको सामग्री प्रकाशित भएपछि केन्द्रीय कारागार सुन्धाराले त्यसको खोजबिन गरेको थियो।

उक्त कारागारका प्रमुख लक्ष्मी बाँस्कोटाले भने, 'उनले परिवारसँग सम्पर्क गर्ने नम्बर बाहेकमा फोन गरेको विवरण देखिएन। सायद त्यसक्रममा भएका संवादलाई पत्रिकाले प्रयोग गरेको हुनसक्छ।'

अनुसन्धान
चार्ल्स शोभराज केन्द्रीय कारागारको गोलघरमा बस्ने र उक्त ठाउँ सीसीटीभी क्यामेराको निगरानीमा समेत हुने केन्द्रीय कारागारले जनाएको छ।

पछिल्लो समय उनीसँग बाहिरका मानिसहरूको भेटघाट नभएको बताइएको छ।

'जेलभित्रकै अन्य कैदी र ड्यूटीमा रहेका सुरक्षाकर्मीसँग समेत उनले खासै कुराकानी गरेको देखिँदैन,' जेलर बाँस्कोटा भन्छन्।

'उनको र आसपासका कोठाहरू खानतलासी गर्दा समेत कुनै फोन, सीमकार्ड वा अन्य सञ्चारका उपकरणहरू भेटिएनन्।'

कारागार प्रशासनले उनी उक्त जेलमा आएदेखि अमेरिका, ब्रिटेन र फ्रान्समा उनले नियमित गरिरहने नम्बरहरूमा मात्र फोन गरेको विवरण पाएको जनाएको छ।

उनले प्रायजसो अङ्ग्रेजी र फ्रेन्च भाषामा संवाद गर्ने गरेको कारागार अधिकारीहरू बताउँछन्।

जेलर बाँस्कोटा थप्छन्, 'हाम्रो निष्कर्ष परिवार वा साथीहरूलाई सम्पर्क गर्ने तिनै नम्बरमार्फत् संवादको रेकर्ड पत्रकारसम्म पुगेको हुनसक्छ। त्यही कुरा हामीले गृह मन्त्रालय र कारागार व्यवस्था विभागलाई अवगत गरायौँ।' बिबिसीबाट    

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077