Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

आइतबारदेखि विद्यालय बन्द, भारत जान रोक

बाँके । दश शिक्षक र पाँच विद्यार्थीलाई कोरोना देखिएपछि नेपालगन्जका सबै विद्यालयलाई एक साता बन्द गर्ने निर्णय भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । उपमहानगरपालिकाले आफ्नो निर्णयलाई बिहीबार नै बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकमा जानकारी गराएको थियो ।

नेपालगन्ज उमपहानगरपालिकाका शिक्षा शाखाका प्रमुख उपसचिव गोर्खबहादुर थापाले चारवटा सामुदायिक र तीनवटा संस्थागत विद्यालयका दश शिक्षक र ५ विद्यार्थीलाई कोरोना पुष्टि भएको जानकारी दिए ।

पछिल्लो एक सातामै बाँकेमा ३ सय ६६ जनालाई कोरोना पुष्टि भएपछि नाकामा कडाइ, भीडभाडमा रोक, विद्यालय बन्दको चर्को दबाब परेको थियो ।

बिहीबार बसेको डीसीसीएमसीको बैठकले अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, भारतबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, पालिकाहरुमा आइसोलेसन सेन्टर सञ्चालन गराउने, मेडिकल कलेज, कोहलपुरमा कोभिड वार्ड सञ्चालन गर्ने, बाहिर निस्किँदा मास्क नलगाउनेलाई कारबाही गर्ने निर्णय गरेको छ । नेपालगन्जमा ह्वाइट हाउसमा आइसोलेसन सेन्टर सञ्चालन गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने बताए । उनले भारतबाट फर्किएका नेपालीका लागि नाकामा होल्डिङ सेन्टर सञ्चालनमा ल्याउने बताए । सीमावर्ती भारतीय बजारमा दैनिक ठूलो संख्यामा नेपालीहरु किनमेल गर्न जाने गर्दछन् ।

भारतको महाराष्ट्र, दिल्ली, गुजरातबाट फर्किएका नेपालीलाई धमाधम कोरोना पुष्टि भइरहेको छ ।नेपालगन्जको भेरी अस्पताल कोरोना संक्रमितले भरिएका छन् । बाँकेका अलावा छिमेकी जिल्लाका बिरामी भेरीमै आउँछन् ।

बाहिरी जिल्लाबाट आउने बिरामीका कारण भेरीलाई अझ बढी आर्थिक बोझ थपिएको छ । प्रमुख जिल्ला अधिकारी गेलालले बाहिरी जिल्लाबाट आउने कोरोना संक्रमितको व्यवस्थापनका लागि संघ र प्रदेश सरकारसँग सहयोग माग्ने निर्णय भएको जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिकाबाहेक अन्य पालिकाको विद्यालय बन्द गर्ने सवालमा डीसीसीएमसीको बैठकमा निर्णय भएको छैन ।

प्रजिअ गेलालले विद्यालय बन्दको गराउने(नगराउने सम्बन्धित स्थानीय तहले नै निर्णय गर्ने बताए ।नेपालगन्जबाहेक अन्य पालिकाका शिक्षक र विद्यार्थीलाई पनि कोरोना देखिएको छ ।

यसैबीच, कोरोनाबाट बाँके खजुराका ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको गएराति १० बजे मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार स्वास्थ्य समस्या भएपछि वैशाख १ गते मेडिकल कलेजमा ल्याइएको थियो । बुधबार नै उनमा कोरोना पुष्टि भएको थियो ।

बाँकेमा केही दिनयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । फोकलपर्सन वलीले पछिल्लो सात दिनमा ३ सय ६६ जना संक्रमित थपिएको जानकारी दिए ।

त्यसमा ६२ महिला र ६१ जना पुरुष रहेका छन् ।- नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077