Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अख्तियारको स्टिङ अपरेसन नै गलत भन्दै सर्वोच्चद्धारा रोक्न आदेश

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसनको नाममा कर्मचारीहरुलाई दुःख दिन थालेपछि सर्वोच्च अदालतले त्यसलाई रोक्न आदेश दिएको छ ।

एउटै व्यक्तिले १३ वटासम्म स्टिङ अपरेसन गराएको पाइएपछि सर्वोच्चको संवैधानिक इजलासले आज यस्तो आदेश जारी गरेको हो ।

सर्वोच्चले आयोगलाई घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेशन नगर्न आदेश दिएको हो ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेशन रोक्न रिट जारी गरिदिएको हो ।

स्टिङ अपरेसनको नाममा कृत्रिम सेवाग्राहीका रूपमा अख्तियारमा उजुरी दिई त्यहींबाट ल्याएको पैसा खुवाएर फन्दामा पार्ने गरेको देखिएको यस अघि नै समाचार आएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा घुस रकमसहित पक्राउ गर्न स्टिङ अपरेशन गर्दै आएको थियो ।

सर्वोच्चको यो आदेशसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशनका आधारमा मात्रै दायर गरेका ४ सय मुद्दा खारेज हुने भएका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार स्टिङ अपरेशन गरेर संकलित प्रमाण ग्रहण योग्य नरहेको बताउँदै सुनुवाइ भइसकेका वा न्यायिक प्रक्रियामा रहेका सबै मुद्दाहरु खारेज हुने गरी आदेश दिएको हो ।

आदेशमा भनिएको छ–‘स्टिङ अपरेशन फौजदारी न्यायको मान्य सिद्धान्त, कानूनको उचित प्रक्रिया र प्रमाण संकलन सम्बन्धी न्यायिक मान्यताका दृष्टिले समेत मनासिव र तार्किक देखिएन । उक्त प्रावधान अनुसन्धान अधिकारीलाई स्वेच्छाचारी तवरबाट कार्य गर्न प्रोत्साहित गर्ने प्रकृतिको समेत देखियो ।’

अदालतको आदेशसँगै बदर भएका मुद्दामध्ये अधिकांश २०७० सालपछिका छन् ।

लोकमान सिंह कार्की प्रमुख आयुक्त भएयता अख्तियारले स्टिङ अपरेशनलाई अभियानकै रुपमा सञ्चालन गरेको थियो ।

स्टिङ अपरेशनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गरेका थिए ।

ललितपुर गोदावरीका राजकुमार तिमल्सिनाले १३ स्टिङ अपरेसन गराएका हुन्।

त्यस्तै त्यस्तै लक्ष्मण रायमाझीले चारवटा, राम सागर बिल्डर्सका प्रोप्राइटर खडानन्द पौडेल भन्ने राम पौडेल र सागर लुइँटेलले एक दर्जन बढि, चन्द्रप्रकाश पौडेल उर्फ सीपी पौडेलले पनि ४ वटा, रामबहादुर गुरुङले अख्तियारबाट १ लाख बुझी एकै दिन ४ घण्टाबीच ५ वटा स्ट्रिङ अपरेशन गराएको खुलेको छ ।

त्यसो त सञ्जयकुमार झाले पनि भ्रष्टाचारविरुद्ध अभियानको छदम नाममा अख्तियारबाट रकम बुझी लिई धेरै वटा स्टिङका गराएका थिए भने अजयप्रसाद जैसवालले ६ महिना अवधिमा तीनवटा स्टिङ अपरेसन गराएका खुलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077