काठमाडौं। छिमेकी देश भारतले नेपालको राजनीतिमा आफुहरुको संलग्नता नभएको बताएको छ।
पछिल्लो समय नेपालको विकसित घटनाक्रम र राजनैतिक अस्थिरतामा भारतले आफ्नो भूमिका खोजेको भन्ने समाचार बाहिर आएका बेला नेपालको राजनीतिमा आफुहरुको संलग्नता नभएको बताएको हो।
आज बिहान सामाजिक सञ्जालमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारतलाई नेपालको राजनैतिक घटनाक्रमबाट पन्छाउदै नेपालकै आन्तरिक मामिला भएको बताएका छन् । यद्यपि उनले नेपालका विकसित घटनाक्रमलाई आफूले नोट गरेको भने बताए ।
'नेपालीहरुको समस्या हो, उनीहरुले आफ्नै घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक पद्धतिबाट समाधान गर्छन, एक छिमेकी र मित्रको हिसाबले नेपाल र नेपाली जनताको प्रगति, शान्ति, स्थायित्व र विकासको यात्रामा आफ्नो सहयोगका लागि भने भारत अविचलित रुपमा कायमै रहनेछ,’ उनले ट्वीट गरेका छन्।
यसअघि नेपालमा सरकार गठनको समय चलिरहेको बेला भारतीय जनता पार्टीका एक नेताले प्रधानमन्त्रीमा केपी ओली भए आफूअनुकुल हुने बताएका थिए ।