एजेन्सी । क्यानडामा गर्मीका कारण ६९ जनाको मृत्यु भएको छ । दक्षिणी प्यासिफिक उत्तरपश्चिममा तापक्रम निरन्तर बढ्दो क्रममा छ ।
गर्मीबाट मर्नेमा अधिकांश पाको उमेरका रहेको बताइएको छ । मंगलबार लगातार तेस्रो दिन क्यानडाको अधिकतम तापक्रम कीर्तिमानी तहमा पुग्यो । ब्रिटिस कोलम्बियाको लिटनको तापक्रम ४९ दशमलव ५ डिग्री सेल्सियस पुगेको हो । यो हप्ता पहिले क्यानडाको तापक्रम कहिल्यै पनि ४५ डिग्री भन्दा माथि पुगेको थिएन ।
जोखिमयुक्त उमेर समूह वा स्वास्थ्य अवस्थाका व्यक्तिहरुका लागि हालको गर्मी घातक बन्ने देखिएको भन्दै स्थानीय प्रशासनले स्थानीय बासिन्दासँग आफूसँगै छिमेकीका बारेमा पनि ख्याल गर्न आग्रह गरेका छन् ।
अझै केही दिन तापक्रम उच्च रहने र तातो हावा चल्ने चेतावनी दिइएको छ। यसैबिच अमेरिकामा पनि गर्मी निरन्तर बढ्दो क्रममा छ । अमेरिकी शहर पोर्टल्याण्ड र सियाटलको तापक्रम सन् १९४० मा तथ्यांक राख्न थालिए यताकै उच्च पुगेको छ । त्यहाँ तापक्रम ४६ दशमलव १ डिग्री सेल्सियस पुगेको छ ।