Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले प्रवेश गरेपछि आफ्नै माउ पार्टी खारेज गर्न यसरी लागे पूर्वमाओवादी नेताहरु

काठमाडौं । आफूहरु एमालेमा प्रवेश गरेपछि आफ्नै माउ पार्टी नेकपा माओवादी केन्द्रको खारेजीको माग गर्दै पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग पुगेका छन्। संविधानले तोकेको समयावधि कट्दा पनि माओवादी केन्द्रको महाधिवेशन नभएको भन्दै नेताहरु आयोगमा उजुरी दिन पुगेका हुन्।

साढे ५ वर्षभित्र महाधिवेशन गर्न नसकेर माओवादी पार्टी अवैध भइसकेको भन्दै दल खारेजीको माग नेताहरुले गरेका छन्। नेता टोपबहादुर रायमाझीको नेतृत्वमा मणि थापा, प्रभु साह र गौरीशंकर चौधरी आयोग पुगेका छन् पूर्वमाओवादी नेता रामबहादुर थापा र लेखराज भट्ट बिरामी भएका कारण आउन नसकेको थापाले जानकारी दिए ।

०६९ देखि महाधिवेशन नभएको भन्दै नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको दर्ता खारेजी गर्नुपर्ने माग निवेदनमा गरिएको छ ।

नेकपा माओवादीले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेजीको लागि पूर्वमाओवादी नेताहरुले बुधवार आयोगमा निवेदन दिएका थिए। दल दर्ता खारेजीको माग गर्दै परेको निवेदन उपर आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन निर्वाचन आयोगमा पूर्ब माओवादीका तथा हालका नेकपा एमालेका नेताहरु उपस्थित भएको बताइएको छ।

सर्वोच्च अदालतले २३ फागुनमा नेकपा खारेज गरेपछि एमालेमा लागेका सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई माओवादी केन्द्रले कारबाही गरेको थियो । थापा भने सांसद थिएनन् । पार्टीले तत्कालीन राष्ट्रिय सभा सदस्य रामबहादुर थापा र चन्द्रबहादुर खड्कालाई पनि कारबाही गरेको थियो । चार सांसद पदमुक्त भएको सूचना संसद् सचिवालयले प्रकाशित गरी आयोगलाई जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077