Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

उमेश श्रेष्ठलाई मन्त्री बनाएकोमा बालुवाटारमा खैलाबैला, देउवाले भने - अब त्यस्तो गल्ती हुँदैन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा रहेका दलहरुसँग सल्लाह नै नगरी कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएकोमा गल्ती स्वीकार गरेका छन् ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री बनाउँदा गल्ती भएको स्वीकारेका हुन् ।

यस्तै, प्रधानमन्त्री देउवाले अबदेखि गठबन्धनमा सल्लाह नगरी कसैलाई पनि मन्त्री नबनाउने प्रतिबद्धतासमेत जनाएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

बैठकमा उपस्थित दलका नेताहरुले गठबन्धनमा छलफल नै नगरी प्रधानमन्त्री देउवाले श्रेष्ठलाई मन्त्री बनाएकोमा बिरोध जनाएका थिए। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले 'स्वार्थ बाझिने उमेश श्रेष्ठलाई किन स्वास्थ्य राज्यमन्त्री बनाएको ?' भन्दै प्रधानमन्त्री देउवामाथि प्रश्न गरेका थिए भने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र कांग्रेसकै महामन्त्री पूर्णबहादुर श्रेष्ठले पनि केसीको प्रश्नमा साथ दिएका थिए।

जवाफमा प्रधानमन्त्री देउवाले यसपटक यस्तै भइहाल्यो, अबदेखि यस्तो हुँदैन भन्दै नेताहरुलाई आश्वस्त पारेका थिए । ‘हाम्रो काँग्रेसमा तपाईहरुलाई थाहा छँदै छ नि, मन्त्री बनाउनुपर्यो भनेर लिएर आइहाले, मैले यस्तो विरोध होला भन्ने सोचिनँ, फ्याट्ट स्वीकृत गरिहालेँ,’ देउवाको भनाइ उधृत गर्दै बालुवाटार स्रोतले थप्यो, 'अब त्यस्तो हुँदैन।'

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाका अध्यक्ष केसी सहभागी रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077