Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

माधवनिकट सांसदको दाबी– ‘नयाँ पार्टी बनाएर ६ मन्त्रालयसहित सरकारमा जान्छौं’

काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपाल निकट सांसद मेटमणि चौधरीले आफ्नो समूहले नयाँ पार्टी निर्माण गर्ने दाबी गरेका छन्। सांसद चौधरीले आफूहरु नयाँ पार्टी बनाएर ६ मन्त्रालयसहित सरकारमा जाने दाबी गरेका हुन्। उनले केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनैपनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने बताएका छन्।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने– ‘यदि हामीले अर्को पार्टी निर्माण गर्न सकेनौं भने हामी हाम्रो आफ्नै आँखा अगाडि केपी ओली अध्यक्ष रहेको पार्टी समाप्त भएको देख्नेछौं। म यो रिपोर्टर्स क्लब नेपालमा घोषणा गर्न चाहन्छु यदि हामीले अर्को पार्टी निर्माण गर्न सकेनौं भने, केपी ओली नै यो नेकपा एमालेको अध्यक्ष भैराख्ने हो भने हाम्रो आफ्नै आँखा अगाडि हेर्दाहेर्दै नेकपा एमाले समाप्त भएको देखिन्छ। एमाले १६५ वटा निर्वाचन क्षेत्रमध्ये कुनैपनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त भएको त्यो खालको पोजिसन आउनसक्छ। तर, हामी यो रिस्क मोल्न चाहँदैनौं।’

उनले अघि भने– ‘यसको लागि फेरि पनि बृहत्त टाईपको कम्युनिष्ट पार्टी निर्माण गर्ने, त्यो पार्टी निर्माण गर्नको लागि अहिले जति सकिन्छ नेकपा एमालेभित्रबाट विभाजन गर्ने, पार्टी निर्माण गर्ने, त्यसपछि नेपालमा रहेका जति कम्युनिष्ट पार्टीहरु छन्, माओवादी केन्द्र, विप्लवदेखि लिएर जनमोर्चा, अनि नेपालको कम्युनिष्ट आन्दोलनसँग आईडोलजिकल्ली नजिक रहेको उपेन्द्र यादवको समेत पार्टीको बीचमा एकता गर्ने र फेरि पनि यो मुलुकको सबैभन्दा लार्जेष्ट पार्टी, र यो मुलुकलाई नेतृत्व गर्ने ठाउँमा पुर्याउनुपर्छ भन्ने हाम्रो निश्कर्ष रहेको छ।’

उनले आफ्नो समूह आज/भोलिभित्रै सरकारमा सहभागी हुने स्पष्ट पारेका छन्। उनले ६ वटा मन्त्रालयसहित सरकारमा जानेबारे आजै निर्णय हुनेपनि जानकारी दिए। उनले भने, ‘हामीले यति नै संख्यामा मन्त्रालय चाहिन्छ भनेर खोजेको छैन। तर, समानुपातिक प्रतिनिधित्व हुनुनै पर्छ। सम्भवतः मलाई के लाग्छ भने ६ को वरिपरिको मन्त्रालयमा हामी सहभागी हुन्छौं।’ उनले सरकारमा सहभागी हुनेबारे सम्भवतः आजै निर्णय हुनेपनि जानकारी दिए। यदि आज नभए आउने हप्तासम्म सरकारमा सहभागी भैसक्ने उनको भनाई छ।

उनले एमालेलाई सग्लो राख्ने हो भने एमाले र केपी ओलीबीच कुनै प्रकारको साईनो÷सम्बन्ध राख्न नहुने बताए। उनले भने, ‘अब तपाईँहरु हेर्दै जानुहोस, संसदीय दलभित्रपनि केही दिनभित्रपनि हामी त्यो खालको वातावरण बनाउनेछौं। र, केन्द्रीय कमिटीमा त केपी ओली र हाम्रो बीचमा त निकै थोरै संख्यामात्रै तलमाथि हो । र, त्यो भित्रपनि एकखालको माहोल बन्दैछ। यदि त्यो पोजिसनमा हामी पुग्यौं भने केपी ओलीलाई संसदीय दलको नेता र पार्टी अध्यक्षबाट हटाउनुपर्छ र हटाउन सकेनौं भने नेकपा एमालेलाई जोगाउन सक्दैनौं। त्यो त तयारी हुनुपर्छ। र, हामी प्रयास गरिरहेका छौं।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077