विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको साम्प्रदायिक झडपपछि स्थानीय प्रशासनले बल प्रयोग गरेको विरोधमा सोमबार सुनसरीका विभिन्न स्थानमा प्रदर्शन चर्किएको छ।
आइतबार राति देवानगञ्ज–३, कप्तानगञ्जमा साउने सोमबारको अवसरमा हिन्दु धर्मावलम्बीले निकाल्ने बोलबम यात्रामा सहभागी एक समूह र अर्को समूहबीच विवाद भएपछि झडप सुरु भएको थियो।
विवादले उग्र रूप लिएपछि सुरक्षाकर्मी समेत परिचालन गरिएका थिए । दुई समूहबीच भएको हिंसात्मक झडपमा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।
गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने गोली लागेर ९ जना घाइते भएका छन्।
झडप र त्यसपछिको अवस्थासहित सुरक्षाकर्मीसमेत गरी २२ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि पाँच स्थानमा कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शनकारीहरूले कर्फ्यु उल्लङ्घन गर्दै सडकमा उत्रिएका छन्। कप्तानगञ्ज क्षेत्र अझै तनावग्रस्त रहेको छ भने सदरमुकाम इनरुवा, लौकहीलगायतका स्थानमा पनि प्रदर्शन फैलिएको छ।
प्रदर्शनकारीहरूले इनरुवा बजार क्षेत्रमा बजार बन्द गराउँदै पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेका छन्। राजमार्ग अवरुद्ध हुँदा लामो दूरीका सवारीसाधन बीच बाटोमै रोकिएका छन् र यात्रुहरू समस्यामा परेका छन्।
यसैगरी सुनसरी प्रहरीका अनुसार प्रदर्शन नियन्त्रण तथा सम्भावित अप्रिय घटना रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ।
यस्तै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली पुगेको छ ।
यसैबीच गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार बिहान बसेको बैठकले घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
स्थानीय प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, अफवाहमा विश्वास नगर्न तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ। घटनाको थप अनुसन्धान र सुरक्षा व्यवस्थालाई उच्च सतर्कताका साथ अघि बढाइएको प्रशासनले जनाएको छ।