काठमाडौं । चर्चित बाल गायक अशोक दर्जीमाथि केही युवाले सडकमै हातपात गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
भिडियोमा पैसाको विवादलाई लिएर केही अपरिचित युवाले उनलाई घेरेर पटकपटक थप्पड हानेको, अभद्र गाली गरेको र धम्क्याएको दृश्य देखिन्छ।
भाइरल भिडियोमा एक युवकले 'पैसा कहिले दिने ? गायक भएर पनि अर्काको पैसा खाने ?' भन्दै अशोकलाई लगातार थप्पड हानिरहेको देखिन्छ।
घटनास्थलमा रहेका अर्का एक व्यक्तिले रोक्न खोजे पनि ती युवकले क्यामराकै अगाडि हातपात जारी राखेको दृश्यले धेरैलाई स्तब्ध बनाएको छ।
घटना कहिले र कहाँ भएको हो भन्ने विषय भने हालसम्म खुलेको छैन । सङ्घर्षपूर्ण साङ्गीतिक यात्राबाट चर्चामा आएका अशोक दर्जी पछिल्लो समय पढाइसँगै साङ्गीतिक र अभिनय क्षेत्रमा निरन्तर सक्रिय छन्।
केही समयअघि गाउँ पुगेका बेला उनले आफू कक्षा ११ मा अध्ययनरत रहेको र नयाँ चलचित्र ‘पार्वती’मा अभिनय गरिरहेको जानकारी दिएका थिए।
भिडियो भाइरल भएपछि उनका शुभचिन्तकहरू चिन्तित बनेका छन्। गायक दर्जीले आफूमाथि अन्याय भएको र योजनाबद्ध रूपमा फसाइएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनी, झापामा दिएको लिखित निवेदन पनि सार्वजनिक भएको छ ।
अशोकले दिएको निवेदन अनुसार, उनी करिब एक महिनाअघि बिर्तामोडस्थित आफ्नो मावली घर गएका थिए ।
सोही क्रममा बिर्तामोडको महानन्द चोक नजिकै साथीहरुसँग खाजा खाइरहेका बेला ‘अङ्कित’ नामको साथीले ‘काजी दाइ’सँग १ हजार रुपैयाँ लिएर भित्री गल्लीमा गएको निवेदनमा उल्लेख छ ।
घटनाको एक हप्तापछि देवीबस्ती गेट नजिकै स्कुटीमा पेट्रोल हालिरहेको अवस्थामा अङ्कित, शशांक प्रधान र ‘गुन्द्रुक’ भन्ने व्यक्तिले आफूलाई अचानक घेरेको उनले बताएका छन् ।
उनीहरूले ‘हजार रुपैयाँ चोरेको’ आरोप लगाउँदै कुटपिट गरेको र सोही क्रममा मोबाइलबाट भिडिओ खिचेको निवेदनमा उल्लेख छ ।