Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सुनसरी घटनापछि खुस्बु ओलीले भनिन् - सानातिना विवादमा गोली चल्नु सुरक्षा संयन्त्रको कमजोरी हो

सुनसरी घटनापछि खुस्बु ओलीले भनिन् - सानातिना विवादमा गोली चल्नु सुरक्षा संयन्त्रको कमजोरी हो

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले सुनसरीको देवानगञ्ज र हरिनगरमा भएको हिंसात्मक झडप तथा प्रहरीको गोली लागेर नागरिकको मृत्यु भएको घटनाले नेपालको आन्तरिक सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको बताएकी छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सांसद ओलीले स्थानीयस्तरका सामान्य विवाद समयमै पहिचान र समाधान गर्न सुरक्षा संयन्त्र कत्तिको सक्षम छ भन्ने विषयमा सुनसरी घटनाले गम्भीर चेतावनी दिएको उल्लेख गरेकी हुन् ।

'एउटा स्थानीय विवाद केही घण्टामै प्रहरीको गोली चल्ने, नागरिकको ज्यान जाने र पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाउनुपर्ने अवस्थासम्म पुग्नु सामान्य घटना होइन,' ओलीले भनेकी छन्।

उनले नागरिकको दैनिक सुरक्षा, सामाजिक सद्भाव, सामुदायिक विश्वास र प्रभावकारी द्वन्द्व व्यवस्थापन नै राष्ट्रिय सुरक्षाको पहिलो आधार भएको बताइन्। सानो असावधानीले पनि स्थानीय तनावलाई ठूलो सामाजिक, साम्प्रदायिक वा राजनीतिक द्वन्द्वमा परिणत गर्न सक्ने जोखिम रहेको उनको भनाइ छ।

राप्रपा सांसद ओलीले गृह मन्त्रालयले सुनसरी घटनालाई सामान्य प्रशासनिक चुनौतीका रूपमा मात्र नभई आन्तरिक सुरक्षासँग जोडिएको रणनीतिक विषयका रूपमा लिनुपर्ने बताएकी छन्।

उनले यस्ता घटना दोहोरिन नदिन प्रारम्भिक सूचना संकलन, जोखिम विश्लेषण, स्थानीय समुदायसँगको समन्वय र संयमित सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन्।

सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा भविष्यमा यस्ता घटना हुन नदिन आन्तरिक सुरक्षा प्रणालीमा संस्थागत सुधार गर्न सांसद ओलीले सरकारसँग माग गरेकी छन्।

देवानगञ्ज–३ मा दुई समूहबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि सुनसरीका विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरिएको छ भने घटनाको अनुसन्धान भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077