Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

रास्वपाकै सांसद लालविक्रमले भने - सुनसरीको कप्तानगञ्जमा प्रहरीले ताकीताकी गोली हान्यो

रास्वपाकै सांसद लालविक्रमले भने - सुनसरीको कप्तानगञ्जमा प्रहरीले ताकीताकी गोली हान्यो

सोमवार , श्रावण ११, २०८३

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा दुई समुदायबीच भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोलीबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापाले गम्भीर प्रश्न उठाएका छन् ।

घटनास्थलको निरीक्षणपछि उनले प्रहरीले सर्वसाधारणलाई लक्षित गर्दै ताकीताकी गोली चलाएको आरोप लगाएका हुन् ।

घटनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद थापाले घाइतेहरूको अवस्थाले पनि बल प्रयोग आवश्यकताभन्दा बढी भएको देखाएको दाबी गरे ।

“हाम्रा अबोध युवामाथि ताकीताकी गोली हानिएको छ। घाइतेहरूको अवस्था हेर्दा धेरैलाई कम्मरभन्दा माथिल्लो भाग, पेट र ढाडमा गोली लागेको छ,” उनले भने, “भीड नियन्त्रण गर्दा घुँडामुनि गोली चलाउनुपर्ने मान्यता भए पनि शरीरका संवेदनशील भागमा गोली लागेको देखिँदा मार्ने नियत थियो कि भन्ने प्रश्न उठेको छ।”

उनले घटनालाई धार्मिक रंग दिएर सरकार आफ्नो असफलता ढाकछोप गर्न खोजेको हो कि भन्ने आशंका समेत व्यक्त गर्दै प्रशासनलाई थप हिंसा हुन नदिन संयमता अपनाउन आग्रह गरे।

घटनापछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले देवानगञ्ज र हरिनगर गाउँपालिकाका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु लागू गरिएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जारी आदेशमा हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन तथा सभा–बैठकमा पूर्ण प्रतिबन्ध लगाइएको छ। सम्भावित थप हिंसा रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।

आइतबार राति साउने सोमबारका अवसरमा कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै बोलबम यात्रामा निस्किएका हिन्दु धर्मावलम्बी र अर्को समुदायबीच डिजेको आवाजलाई लिएर विवाद भएपछि झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज गाउँपालिका–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

घटनामा ९ जना सर्वसाधारण, नेपाल प्रहरीका ८ जना र सशस्त्र प्रहरीका ५ जना गरी २२ जना घाइते भएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077