रुकुम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र तथा तत्कालीन जनयुद्धको आधारभूमि रुकुम पूर्वमा पार्टीभित्रको विवाद चर्किँदै गएको छ।
असन्तुष्ट पक्षले शनिबार खावाङ बगरमा समानान्तर बैठक गरेपछि जिल्लाको राजनीति नयाँ मोडमा पुगेको हो।
बैठकमा केन्द्रीय सदस्य जितमान पुन ‘मार्शल’, होमप्रकाश श्रेष्ठ ‘हिमाल’, पुनिराज घर्ती, रवि बुढा, मन्सराम खड्कालगायतका नेताहरू सहभागी भएका थिए।
यो समूहलाई पूर्णबहादुर घर्तीको संरक्षण रहेको र वाईसीएल नेपालका पूर्व अध्यक्ष सुबोध सेर्पाली पनि यही धारमा सक्रिय रहेको बताइएको छ।
यद्यपि न्यून उपस्थितिका कारण समानान्तर जिल्ला कमिटि घोषणा हुन सकेन।
उता संस्थापन पक्षले साउन १३ र १४ गते जिल्ला बैठक बोलाएको छ। रुकुम पूर्वमा अहिले तेजबहादुर ओली, गणेशमान पुन र पूर्णबहादुर घर्ती नेतृत्वका तीन शक्ति केन्द्र सक्रिय देखिएका छन्।
ती समूह क्रमशः वर्षमान पुन, शक्ति बस्नेत तथा देव गुरुङ निकट मानिने भएकाले जिल्लाको विवादलाई केन्द्रको शक्ति संघर्षको प्रतिबिम्बका रूपमा समेत हेरिएको छ।