काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमतिउन्मुख रहेको बताएका छन्।
पार्टी एकताका लागि दबाब दिन नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना नेतृत्वको कांग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिसँग आज भएको भेटमा उनले वर्तमान चुनौती सामना गर्न पनि पार्टी एकता अपरिहार्य रहेको बताएका हुन्।
सभापति थापाले एकतामा असर पर्ने कुनै पनि गतिविधि नगर्न आग्रह गर्दै दबाब अभियानले साउन १६ गते आयोजना गर्न लागेको राष्ट्रिय भेला स्थगित गर्नसमेत अनुरोध गरेका थिए। दबाब अभियानका संयोजक भीम ढुङ्गानाका अनुसार पार्टी एकता सकारात्मक दिशातर्फ अघि बढिरहेको छ।
भेटका क्रममा सभापति थापाले असन्तुष्ट नेताहरूसँग सहमतिको खाका तयार गर्न दुई–दुई सदस्य रहने चार सदस्यीय कार्यदल गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए। उक्त कार्यदल एक–दुई दिनभित्र गठन हुने कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले बताए।
स्थानीय तहका जनप्रतिनिधिले पार्टी एकताबिना गाउँ–गाउँमा जनतामा आशा जगाउन र कांग्रेसप्रतिको विश्वास पुनः स्थापित गर्न कठिन हुने धारणा राखेका थिए। उनीहरूले तत्काल पार्टी एकताको प्रक्रिया टुंग्याएर कार्यकर्तामा सकारात्मक सन्देश दिन नेतृत्वसँग आग्रह गरेका थिए।
सभापति थापाले पार्टी एकता हुनेमा विश्वस्त रहन आग्रह गरेको तिलागुफा नगरपालिकाका प्रमुख शङ्कर उपाध्यायले बताए। कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कार्कीले भने, ‘हाम्रो खबरदारी जारी रहन्छ। राष्ट्रिय भेला गर्ने वा नगर्ने विषयमा साथीहरूसँग छलफल गरेर निर्णय गर्छौं।’
भेटमा नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना, गाउँपालिका महासङ्घका उपाध्यक्ष लक्ष्मण शाही, हलेसी नगरपालिकाका प्रमुख विमला राई, चरिकोट नगरपालिकाका प्रमुख लवश्री न्यौपाने, कागेश्वरी मनोहराका प्रमुख उपेन्द्र कार्की, तिलागुफाका प्रमुख शङ्कर उपाध्याय, शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन तथा दबाब अभियान प्रचारप्रसार समितिका संयोजक सरोज अधिकारीलगायत सहभागी थिए।