काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमतिउन्मुख दिशामा अघि बढेको बताएका छन्। आइतबार नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाको नेतृत्वमा पुगेका कांग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिसँगको भेटमा उनले असन्तुष्ट पक्षसँग संवाद सकारात्मक ढंगले अघि बढिरहेको र छिट्टै सहमतिमा पुग्ने विश्वास व्यक्त गरेका हुन्।
स्थानीय तहका जनप्रतिनिधिले पार्टी एकताका लागि दबाब दिन पुगेको भेटमा सभापति थापाले वर्तमान राजनीतिक चुनौतीको सामना गर्न पार्टी एकता अपरिहार्य रहेको उल्लेख गर्दै एकतामा असर पर्ने कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरेका थिए।
दबाब अभियानका संयोजक भीम ढुंगानाका अनुसार थापाले साउन १६ गते तय गरिएको राष्ट्रिय भेला पनि हाललाई स्थगित गर्न आग्रह गरेका छन्।
भेटका क्रममा सभापति थापाले असन्तुष्ट नेताहरूसँग सहमतिको खाका तयार गर्न दुई–दुई जना सदस्य रहने गरी चार सदस्यीय कार्यदल गठन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीका अनुसार कार्यदल एक–दुई दिनभित्र गठन हुनेछ।
स्थानीय तहका जनप्रतिनिधिले पार्टीभित्रको विभाजनका कारण गाउँ–गाउँमा कांग्रेसप्रति विश्वास कमजोर बन्दै गएको भन्दै तत्काल एकता कायम गरेर जनतामा आशा जगाउन नेतृत्वलाई आग्रह गरेका थिए। शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले पार्टीको साख पुनःस्थापित गर्न एकता नै पहिलो सर्त भएको धारणा राखिएको बताए।
तिलागुफा नगरपालिकाका प्रमुख शंकर उपाध्यायका अनुसार सभापति थापाले कांग्रेस छिट्टै एकताबद्ध हुने विश्वास दिलाएका छन्।