काठमाडौं । काठमाडौंको चमतीमा एक महिलाको घाँटी थिचेर हत्या भएको छ ।
खोटाङ घर भई काठमाडौं चमती बस्ने २८ वर्षीया बबिता राईको मध्यराति घाँटी थिचेर हत्या भएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए।
बबिताको हत्या भएको भन्ने स्थानीयको खबरपछि महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनका श्रीमान रामेश्वर गोतामेलाई पक्राउ गरेको छ ।
नुवाकोट तादी गाउँपालिका २ सातबिसे घर भएका ३३ वर्षीय गोतामेले आफूले हत्या गरेको स्वीकार गरिसकेको प्रहरीको भनाइ छ। आफूलाई दैनिक विभिन्न कुराले टचर दिएकाले हत्या गरेको प्रहरीमा बयान दिएको डिएसपी बुढाथोकीले बताए।
डीएसपी बुढाथोकीका अनुसार उनीहरूबिच करिब ५ वर्षअघि विवाह भएको थियो। बबिता रामेश्वरकी दोस्रो श्रीमती हुन् । उनीहरू बालाजुको एक उद्योगमा काम गर्दै आएका थिए।
'उनीहरूको पहिलेदेखि नै सम्बन्ध राम्रो थिएन। त्यसैबीच हिजो राति १२ बजेको आसपासमा घाँटी थिचेर हत्या गरेको देखिन्छ,' डीएसपी बुढाथोकीले भने,'श्रीमतीले रक्सी खाएर सधैं चक्कु देखाउने गर्थी । सधैं त्यसो गरेपछि मलाई सधैं तनाव भयो मारिदिन्छु बरू जेल बस्छु भनेर मारेको देखियो । अहिले पनि गोतामेले कुनै पश्चाताप गरेका छैनन्।'
यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको डिएसपी बुढाथोकीले बताए ।