Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बिहेको भोज खान गएका १७ जनाको चट्याङ लागेर मृत्यु, बेहुलासहित १४ घाइते

एजेन्सी। बङ्ग्लादेशमा चट्याङका कारण एउटा बिहेको भोजमा सहभागी भएका कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। उक्त घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएका छन्।

उत्तरी बङ्ग्लादेशको शिवगन्जमा पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका मानिसहरू बेहुलीको घरतिर जान लागेको बेलामा ठूलो वर्षा भएको थियो । स्थानीय बासिन्दाका अनुसार उनीहरूमाथि चट्याङ खसेको थियो।

'भोजमा सहभागी भएका मानिसहरू पद्मा नदीपारि पाकातिर जाँदै थिए। ठूलो पानी पर्न थालेपछि उनीहरू टिनको छानोमुनि ओत लाग्न बसेका थिए,' उक्त घटनाबारे स्थानीय अधिकारी शकिब-अल-राबीले भने। घटना हुँदा बेहुली उक्त समूहमा थिइनन्।

चट्याङको प्रकोप

दक्षिण एशियामा प्रत्येक वर्ष चट्याङका कारण सयौँ मानिसहरूको मृत्यु हुन्छ। बङ्ग्लादेशले सन् २०१६ मा चट्याङलाई राष्ट्रिय प्राकृतिक विपत्ति घोषणा गरेको थियो।

सो वर्ष मे महिनामा चट्याङका कारण २०० जनाको मृत्यु भएको थियो। त्यतिबेला एकैदिन ८२ जनाको चट्याङ लागेर ज्यान गएको थियो। विज्ञहरूका अनुसार वनविनाशका कारण घातक चट्याङको सङ्ख्या बढेको हो।

अग्ला रूखहरूले चट्याङ आफूतिर तान्ने गरेको तर वन मासिँदा चट्याङ भूमिमा खस्ने क्रम बढेको उनीहरूको भनाइ छ। मौसमविद्हरूका अनुसार उत्तर तथा पश्चिमोत्तर बाङ्ग्लादेश बढी चट्याङ पर्ने सम्भावना भएका क्षेत्र हुन्। गर्मीयाममा तापक्रम बढ्दा त्यहाँ चट्याङ पर्ने सम्भावना अझ बढ्छ।

सरकारले चट्याङसम्बन्धी पूर्वचेतावनी दिन तथा क्षतिबाट जोगाउन सकिन्छ कि भनेर परीक्षणका रूपमा चट्याङ पत्ता लगाउन सक्ने क्षमता भएका सेन्सरहरू देशका छवटा स्थानमा जडान गरेको छ। (स्रोत : बीबीसी)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077