Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रहरी हेडक्वाटरबाटै प्रश्नपत्र चोरी भएको निष्कर्ष, डिएसपीसहित ११ प्रहरीलाई कारबाहीको सिफारिस

    प्रहरी हेडक्वाटरबाटै प्रश्नपत्र चोरी भएको निष्कर्ष, डिएसपीसहित ११ प्रहरीलाई कारबाहीको सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, २६ साउन २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानुअघि लिइने प्रारम्भिक छनोट परीक्षाको प्रश्नपत्र प्रहरी हेडक्वाटरबाटै चोरी भएको निष्कर्ष निकालिएको छ। घटनाको अनुसन्धान गर्न गठित छानबिन समितिले यस्तो निष्कर्ष निकाल्दै डिएसपीसहित ११ प्रहरीलाई कारबाही गर्न सिफारिस गरेको छ।

    ११ जनामध्ये २ प्रहरीलाई बर्खास्त गर्न छानबिन समितिले सिफारिस गरेको छ। प्रतिवेदनमा यूएन शाखामा कार्यरत प्रहरी परिचर सुरेश बम र साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाहलाई बर्खास्त गर्न सिफारिस गरिएको हो। समितिले छानबिन थालेलगत्तै उनीहरुलाई पक्राउ गरेर नक्सालस्थित १ नम्बर गणमा राखिएको छ।



    प्रहरी हेडक्वार्टरमै सुरक्षाकर्मीबाट प्रश्नपत्र चोरी हुनु ठूलो घटना भएका कारण उनीहरुलाई बर्खास्त नै गर्न सिफारिस गरिएको समितिका एक सदस्यले जानकारी दिए। तर, कारबाही सम्बन्धी अन्तिम निर्णय महानिरीक्षक शैलेश थापा क्षेत्रीले नै लिने बताइएको छ।



    समितिले कारबाही गर्न सिफारिस गरिएका प्रहरीमध्ये एक डीएसपी रुपेश खड्का पनि हुन्। दुई जनालाई बर्खास्तसहित अन्यलाई ग्रेड घटुवा, नसियत लगायतका कारबाही सिफारिस गरिएको हो।

    प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले यसअघि दिइएको परीक्षा रद्द गर्ने भएको छ। र, यथाशीघ्र नयाँ परीक्षा गर्ने भएको छ। प्रहरी महानिरीक्षक थापा र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुबीच भएको छलफलबाट पुनः अर्को परीक्षा सञ्चालन गर्ने अनौपचारिक निर्णय भएको हो।

    प्रि–स्याट परीक्षामा उत्तीर्ण हुनेलाई मात्र मिसनको अन्तिम परीक्षामा सहभागी गराउने गरिएको छ। परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म सहभागी हुने गरेका छन्। यसअघि सन् २०१८ मा भएको स्याट परीक्षाको प्रश्नपत्र पनि परीक्षा अगावै बाहिरिएको पाइएपछि अर्को जाँच लिइएको थियो।

    गत साउन १५ र १६ गतेका लागि तोकिएको परीक्षा हुनुअगावै प्रश्नपत्र बाहिरिएको खुलासा भएको थियो। त्यसपछि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो सचिवालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनाएका थिए। समितिले छिट्टै प्रतिवेदन बुझाउने तयारी गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार