Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काबुल विमानस्थलमा आइतबार नै अर्को आक्रमण हुन सक्ने अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को आतंककारी आक्रमण हुन सकने चेतावनी दिएका छन्। राष्ट्रपति बाइडेनले सैनिक कमान्डरहरूले आइतबारसम्ममा नै अर्को आक्रमण हुनसक्ने जानकारी दिएको बताएका छन्।

त्यस्तै स्टेट डिपार्टमेन्टले जोखिमलाई मध्यनजर गदै यसअघि नै सो क्षेत्रबाट टाढा रहन आफ्ना नागरिकहरूलाई चेतावनी जारी गरेको छ। बिहीबारको विस्फोटको बदलामा अमेरिकाले शुक्रबार पूर्वी अफगानिस्तानमा ड्रोन हमला गरेको थियो। हमलामा आईएस–के दुई जना उच्च सदस्य मारिएको अमेरिकाको दाबी छ।

मारिने दुई जनामा एकजना योजनाकार र एकजना सहयोगी भएको बताइएको छ। तर, उनीहरू नै काबुलको विमानस्थलमा भएको हमलामा प्रत्यक्ष रुपमा संलग्न थिए भन्ने चाहिँ स्पष्ट पारिएको छैन। ‘यो अन्तिम आक्रमण होइन। हामी उक्त विभत्स आक्रमणमा संलग्नहरूको खोजी कार्यलाई जारी राखेर उनीहरूलाई मूल्य चुकाउन बाध्य पार्ने छौँ,’ बाइडेनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आईएस–के अफगानिस्तानमा रहेका जिहादी सशस्त्र समूहमध्ये सबैभन्दा चरमपन्थी र हिंस्रक मानिन्छ। तालिबानले अमेरिकासँग शान्ति सम्झौता गरेर युद्ध मैदानबाट भागेको उसको आरोप छ। यता, तालिबानले भने अमेरिकाको ड्रोन हमलाको आलोचना गरेको छ। कुनै पनि आक्रमण गर्दा आफूसँग सल्लाह हुनुपर्ने तालिबानको भनाइ रहेको छ।

काबुल विमानस्थलबाट अमेरिकी सेना पनि फर्किन थालेका छन्। गत हप्ता ५ हजार ८ सय सेना रहेकोमा हाल करिब ४ हजार सेना विमानस्थलमा रहेका छन्। ह्वाइट हाउसले अबका केही दिन थप चुनौतीपूर्ण र खतरनाक हुन बताएको छ। बिहीबार काबुलमा भएको बम विस्फोटमा अमेरिकी सेनासहित कम्तीमा १ सय ७७ जनाको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077