Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सर्वदलीय बैठकको साँढे २ घण्टा निष्कर्षबिहीन, पुन: प्रतिपक्षसँग वार्ता गर्न सभामुखलाई नेताहरुको सुझाव

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा आह्वान गरेको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको छ ।

सोमबार संसद भवन बानेश्वरमा झण्डै साढे २ घण्टा बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहभागी नभएपछि बैठकमा कुनै सहमति नजुटेको सभामुखको सचिवालयले बताएको छ ।

सचिवालयका अनुसार बैठकमा नेताहरुले सभामुखलाई पुन: प्रतिपक्षसँग वार्ता र संवाद गरेर निकास खोज्न सुझाव समेत दिएका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रतिपक्ष एमाले बैठकमा सहभागी नै नभएपछि कुनै निचोडमा पुग्न नसकेको बताए । ‘कुनै निचोडमा पुगेको छैन । यो सभामुख र प्रमुख प्रतिपक्षको कुरा हो, उहाँको उपस्थितिबिना कुनै परिणाम आउदैन’ अध्यक्ष ठाकुरले भने।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेपाल मजदुर किसानका पार्टीका सचिव प्रेम सुवाल र कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी भएका थिए।

बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेको तर्फबाट भने कुनै  प्रतिनिधि पनि सहभागी भएका थिएनन्। संसद बैठक भोलि दिउँसो १ बजे बस्दैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077