कपिलवस्तु । कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ। शुद्धोधन गाउँपालिका–६ स्थित बिमिहा चोकमा शनिबार मध्यराति भएको सडक दुर्घटनामा दुई युवाले ज्यान गुमाएका हुन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकलमा सवार यशोधरा गाउँपालिका–२ पश्चिम भडेहरका ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइ गम्भीर घाइते भएका थिए।
घाइते दुवै जनालाई तत्काल उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको भए पनि चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।