काठमाडौं । बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीको बिहान ६ः३० बजेसम्मको अपडेट अनुसार देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही स्थानमा यातायात एकतर्फी तथा वैकल्पिक मार्गबाट सञ्चालनमा आएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार कोशी प्रदेशको भोजपुर नगरपालिका-५ बोखिमस्थित मध्य पहाडी लोकमार्गमा बाढीका कारण अवरुद्ध सडक अर्को वैकल्पिक बाटो समेत प्रयोग गरी हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
यस्तै, इलाम नगरपालिका-९ राजदुवाली (झापादेखि ताप्लेजुङ सडक) स्थित मेची राजमार्गमा अभिरल वर्षाका कारण पूर्ण रूपमा अवरोध सिर्जना भएको छ भने अर्को वैकल्पिक बाटो समेत उपलब्ध छ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ माम्खास्थित मध्य पहाडी लोकमार्गमा पहिरोका कारण सडक एकतर्फी सञ्चालन भएको छ।
बागमती प्रदेशतर्फ, काभ्रेपलाञ्चोकस्थित बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६:०० देखि बिहान ४:०० बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने बिहान ४:०० बजेदेखि साँझ ६:०० बजेसम्म भने स्थितिको विचार गरी सवारी साधनहरू सञ्चालन हुने गरेका छन्।
यसैगरी, मकवानपुरको हेटौँडा-ठिंगन-बागमती-ललितपुर खण्डको कान्तिलोकपथमा पनि साँझ ५:०० देखि बिहान ५:०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जिरोकिलो (तातोपानी जाने बाटो) र वडा नं २ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो गएका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ।
दोलखाको तामाकोशी गाउँपालिका-५, किर्नेटरस्थित लामासाधु-रामेछाप राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भए पनि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक बाटो खुलाइएपछि यातायात सुचारु भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका-५, खल्टेस्थित त्रिशूली मैलुङ स्याफ्रुबेँसी सडक खण्डमा पनि पहिरोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध रहेको छ।
गण्डकी प्रदेशअन्तर्गत बागलुङको जैमिनी नगरपालिका-८, बेलबगरस्थित कालीगण्डकी करिडोर सडक-खण्ड पहिरोका कारण एकतर्फी सुचारु भएको छ। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३, चैलेस्थित घ्याकर खोला (जोमसोम कोरला सडक खण्ड) मा बाढीका कारण यातायात पूर्ण रूपमा अवरुद्ध छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सितगंगा नगरपालिका-२, फलाचौरको सन्धिखर्क-गोरुसिंह पक्की सडक खण्डमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ।
त्यसैगरी, कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका-६, रिजेगार्ड खोलामा आएको बाढीका कारण भेरी करिडोर जाजरकोट-डोल्पा सडक-खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

