काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकार र सत्तारुढ दलको नीति स्पष्ट रहेको बताउँदै प्रवासमा रहेका नेपालीहरूलाई त्यसमा विश्वस्त रहन आग्रह गरेका छन् ।
उनले प्रवासी नेपालीलाई नेपालको विकास र आर्थिक रूपान्तरणका महत्त्वपूर्ण साझेदार तथा सद्भावना दूतका रूपमा प्रस्तुत गर्दै देशमा लगानी विस्तार गर्न आह्वान गरेका हुन्।
शनिबार अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूले आयोजना गरेको सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकार प्रवासी नेपालीसँगको सम्बन्धलाई थप सुदृढ बनाउने पक्षमा रहेको बताए।
'एक पटकको नेपाली, सधैँको नेपाली हौँ भन्ने हाम्रो मान्यता स्पष्ट छ। ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ,' उनले भने।
वाग्लेले नयाँ सरकारले अभूतपूर्व जनमतका आधारमा सत्ता सम्हालेपछि सुशासन, पारदर्शिता र आर्थिक सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरे।
उनका अनुसार सरकारका पहिलो १०० दिनमै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लागू गर्ने तथा अर्थतन्त्रलाई पुनर्जीवित गर्ने दिशामा उल्लेखनीय सुरुवात भएको छ।
उनले नेतृत्वदेखि मन्त्रीहरूसम्म उच्च नैतिक मापदण्डमा उभिएर काम गरिरहेको उल्लेख गर्दै मेरिटोक्रेसी, सुशासन, पारदर्शिता र आर्थिक सुधारलाई सरकारको मुख्य कार्यदिशा रहेको बताए।
अर्थमन्त्री वाग्लेले सरकारले बजेटमार्फत कर प्रणाली, राजस्व व्यवस्थापन, बजेट वितरण र लगानीमैत्री वातावरण सिर्जना गर्न नयाँ नीतिगत व्यवस्था गरेको जानकारी दिए।
नेपालमा गरिएको लगानीको प्रतिफल सहज रूपमा फिर्ता लैजान सकिने वातावरण निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले अस्ट्रेलियासहित विश्वभर रहेका नेपालीलाई आफ्नो वैध पूँजी तथा विदेशी लगानी नेपाल ल्याउन आग्रह गरे।