काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेपालमा पेट्रोलियम पदार्थको मूल्य अब घट्ने अवस्थामा रहेको जानकारी दिएका छन्।
केही महिना यता मध्यपूर्वमा देखिएको द्वन्द्वको असरका कारण नेपाली बजारमा पनि डिजेल, पेट्रोल तथा मट्टीतेलको मूल्य पनि आकासिएको छ ।
तर, अमेरिका र इरानबीच सम्झौता भएपछि द्वन्द्वको असर कम हुँदै गएकाले डिजेल, पेट्रोल तथा मट्टीतेलको मूल्य निकट भविष्यमा घट्ने अर्थमन्त्री वाग्लेले बताएका हुन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने- 'मध्यपूर्वमा देखिएको समस्याका कारण इन्धनको मूल्य बढ्दा आम उपभोक्तामाथि भार परेको थियो । त्यसलाई कम गर्न हामीले तत्काल करमा सहुलियत दिएका थियौँ। अहिले मध्यपूर्वको अवस्था सहज बन्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिसकेको छ। भारतीय आयल निगममार्फत आयात हुने प्रक्रियाका कारण केही समय लागे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य अब घट्ने अवस्थामा छ ।'
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिसकेको भए पनि त्यसको प्रभाव नेपालमा पर्न केही समय लाग्ने उनले बताए ।
उनका अनुसार नेपालले भारतीय आयल निगममार्फत प्रशोधित पेट्रोलियम पदार्थ आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि त्यसको प्रभाव नेपालमा देखिन समय लाग्ने हुन्छ ।
साथै, अर्थमन्त्री वाग्लेले मध्यपूर्वको तनावका कारण उपभोक्तामाथि परेको भार कम गर्न आफू अर्थमन्त्री बनेको दुई साताभित्रै डिजेल, पेट्रोल र मट्टीतेलको पैठारीमा लाग्ने भन्सार महसुल तथा डिजेल र पेट्रोलमा लाग्ने पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिएको जानकारी दिए ।