काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक र सुविधालाई समयसापेक्ष बनाउन सरकार सकारात्मक रहेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा उनले स्वकीय सचिवको तलब, सेवा–सुविधा तथा फिल्ड भ्रमणका क्रममा उपलब्ध गराइने भत्तामा आवश्यक सुधार गर्न सरकार तयार रहेको बताएका हुन्।
'हरेक सांसदका स्वकीय सचिवको पारिश्रमिकदेखि सेवा–सुविधाका विषयमा सरकार सकारात्मक छ। फिल्ड भिजिटका बेला दिइने भत्तालगायतका विषयलाई विधिसम्मत रूपमा समयअनुकूल बनाउन हामी नकारात्मक छैनौँ,' मन्त्री वाग्लेले भने।
साथै बैठकमा उनले नेपाल राष्ट्र बैंक ऐन संशोधनका विषयमा पनि सरकार लचिलो रहेको बताए।
राष्ट्र बैंकको संरचना, सञ्चालक समितिको सदस्य संख्या तथा डेपुटी गभर्नर नियुक्तिसम्बन्धी प्रस्तावमा आवश्यक छलफल गरेर सहमतिमा पुग्न सकिने उनको भनाइ थियो।
डेपुटी गभर्नर आन्तरिक सेवाबाट वा बाहिरबाट नियुक्त गर्ने विषयमा आएका संशोधन प्रस्तावलाई पनि विधिसम्मत छलफलमार्फत निष्कर्षमा पुर्याइने मन्त्री वाग्लेले बताए।