एजेन्सी । दक्षिण–पश्चिमी फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोले व्यापक मानवीय संकट निम्त्याएको छ । तीव्र हावा, अत्यधिक तापक्रम र सुख्खा मौसमका कारण आगो नियन्त्रणबाहिर जाँदा २ लाख ५० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् ।
बीबीसीका अनुसार, फ्रान्सको दक्षिण–पश्चिम क्षेत्रमा डढेलो तीव्र गतिमा फैलिँदै बोर्दो सहरतर्फ अघि बढिरहेको छ। तीव्र हावाका कारण आगो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरूले कठिन संघर्ष गरिरहेका छन्। स्थानीय अधिकारीहरूले आगो नियन्त्रणमा आउन अझै समय लाग्ने बताएका छन्।
डढेलोको जोखिम बढेपछि बोर्दोको पश्चिममा रहेका सात सहरका बासिन्दालाई रातारात सुरक्षित स्थानमा सारिएको छ। शनिबार बिहानसम्म आगो बोर्दोबाट करिब ४० देखि ५० किलोमिटर टाढा पुगे पनि हावाले धुवाँ सहरसम्म पुर्याएको छ। स्थानीयले वातावरणमा डढेको कडा गन्ध फैलिएको बताएका छन्।
फ्रान्सको जिरोन्ड र ल्यान्ड्स क्षेत्रबाट मात्रै करिब २ लाख मानिसको उद्धार गरिएको छ। आगो नियन्त्रणलाई प्रभावकारी बनाउन फ्रान्स सरकारले सेना परिचालन गरेको छ। सेनाले झाडी हटाउने, आगो फैलिन नदिन फायर ब्रेक निर्माण गर्ने तथा अग्निनियन्त्रकलाई आवश्यक उपकरण र जनशक्ति उपलब्ध गराइरहेको छ।
उता स्पेनमा पनि डढेलोका कारण संकटकाल घोषणा गरिएको छ। मौसममा केही सुधार आएपछि म्याड्रिड बाहिर खटिएका अग्निनियन्त्रकलाई केही राहत मिले पनि अवस्था अझै पूर्ण रूपमा नियन्त्रणमा आएको छैन।
स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले स्थिति अझै गम्भीर रहेको स्वीकार गर्दै आगामी दिनहरू चुनौतीपूर्ण रहने चेतावनी दिएका छन्।
स्पेनको भ्यालेन्सिया क्षेत्रमा डढेलोका कारण एकजनाको मृत्यु भएको पुष्टि भएको छ। क्षेत्रीय सरकारले हावाको गति घट्नु, आद्र्रता बढ्नु र तापक्रम कम हुनु सकारात्मक संकेत भए पनि पुनः तीव्र हावा चल्ने सम्भावनाले जोखिम कायम रहेको जनाएको छ।
स्पेनको आन्तरिक मन्त्रालयका अनुसार डढेलो सुरु भएयता म्याड्रिड र आभिला क्षेत्रबाट करिब ६० हजार मानिस विस्थापित भएका छन् भने २८ हजारभन्दा बढी नागरिक अझै आफ्नै घरभित्र सुरक्षित रहन बाध्य छन्।
प्रधानमन्त्री साञ्चेजका अनुसार यस वर्ष स्पेनमा अहिलेसम्म १ लाख ३० हजार हेक्टरभन्दा बढी वन क्षेत्र डढेलोले नष्ट गरिसकेको छ।