काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारी सुविधा र सुरक्षा व्यवस्थालाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बाँस्कोटाले कसैले सुविधा नलिने भनिए पनि अन्ततः निजी सहायक (पीए) नियुक्त गरिएको भन्दै व्यंग्य गरेका हुन् ।
उनले सुरक्षा जोखिम देखाएर निजी सुरक्षा अधिकृत (पीएसओ), चालक र सरकारी गाडीलगायत सुविधा लिनसमेत सुझाव दिएका छन्।
'कसैले पाउँदैन, नदिने भन्यौ, पीए लियौ। सुरक्षा थ्रेटको ‘नाटक’ मञ्चन थाल्या छौ, पीएसओ पनि लिइहाल, अगाडि–पछाडि ट्याँ टुँ नगर्ने कुरा नाटक भयो,' बाँस्कोटाले लेखेका छन् ।
उनले नयाँ कामको दाबी गरिए पनि पुरानै संरचनामा सामान्य परिवर्तन गरेर प्रस्तुत गरिएको भन्दै आलोचना गरेका छन्। बास्कोटाले त्यसलाई वास्तविक सुधार नभई ‘स्टन्ट’को संज्ञा दिएका छन्।
'चालक, गाडी लिइहाल। नयाँ कामका चर्का कुरा पुरानो जगमा डेन्टिङ–पेन्टिङ। नयाँ तरक्की त स्टन्ट हो। बाँकी छ, चमेरोको घरमा पाहुना लाग्न, त्यो पनि गर, कथा समाप्त,' उनले उल्लेख गरेका छन् ।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसदहरूले आफूहरूलाई सुरक्षा चुनौती रहेको भन्दै सरकारसँग सुरक्षा व्यवस्था गर्न माग गर्दै आएका छन् । सोही सन्दर्भलाई लिएर बास्कोटाले व्यंग्यात्मक टिप्पणी गरेको बुझिएको छ ।