काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले नेपालका कम्युनिष्ट दलहरूबीच फेरि उठेको पार्टी एकताको बहसप्रति टिप्पणी गरेका छन् ।
उनले पार्टी एकताको नारालाई विगतका गल्ती ढाकछोप गर्ने र नेतृत्वमा टिकिरहने माध्यमका रूपमा प्रयोग भइरहेको आरोप लगाएका हुन् ।
आइतबार नेकपा र एमालेका शीर्ष नेताबीच पार्टी एकता वा कार्यगत एकताको सम्भावनाबारे सार्वजनिक रूपमा छलफल भएको थियो। त्यसलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले यस्तो प्रयासप्रति असन्तुष्टि जनाएका हुन् ।
उनले लेखेका छन्, 'पटक–पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग अलि चलेछ।'
बास्कोटाले पार्टी एकताको बहसलाई नेतृत्वको असफलता लुकाउने रणनीतिसँग जोड्दै लेखेका छन्, 'भयङ्कर खतरा देखाएर नेतृत्वबाट चलाइएको यो कथ्य रूपमा सुन्दर तर सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिकिरहन प्रयोग गरिएको भुत्ते हतियार हो।'
विगतका एकता र विभाजनका घटनालाई स्मरण गराउँदै उनले कम्युनिष्ट नेतृत्वलाई आत्मसमीक्षा गर्न पनि आग्रह गरेका छन्।
“सुधार र शक्ति आर्जन साँच्चै चाहेको हो भने पहिले फुटाएर गरेको गल्ती स्वीकार गर्न सक्छौं ? आफू छोडेर सहकर्मीलाई अघि बढ्न दिन सक्छौं ?” भन्दै उनले नेतृत्वको नियतमाथि प्रश्न उठाएका छन्।