काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अभिव्यक्तिलाई लक्षित गर्दै व्यंग्य गरेका छन्।
लामिछानेले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा “सरकार हाम्रो छ तर सत्ता हाम्रो भइसकेको छैन” भन्ने अभिव्यक्ति दिएका थिए । त्यसैलाई संकेत गर्दै बास्कोटाले सामाजिक सञ्जालमार्फत राजनीतिक सत्ता र सरकारबीचको अन्तरबारे व्यंग्यात्मक टिप्पणी गरेका हुन्।
उनले हालको राजनीतिक परिस्थितिलाई चित्रण गर्दै “माथ्लोघरे माईलो” को भनाइ उद्धृत गरेका छन् । बास्कोटाका अनुसार “सरकार हाम्रो छ तर सत्ता छैन” भन्ने यथार्थ अहिलेको राजनीतिक अभ्यासमा स्पष्ट हुँदै गएको संकेत देखिएको छ।
प्रधानन्यायाधीश नियुक्ति प्रकरणलाई समेत जोड्दै उनले यसलाई 'सत्ता सुदृढीकरणको फोरकास्ट' भनेका छन्। साथै दार्शनिक सन्दर्भ जोड्दै उनले 'माओ भन्थे—सत्ता बाहेक सबै भ्रम हो' भन्ने टिप्पणीसमेत गरेका छन्।
बास्कोटाले वर्तमान लोकतान्त्रिक अभ्यासलाई व्यंग्य गर्दै 'नयाँ लोकतन्त्र' को नाममा सत्ता संरचना फरक दिशातर्फ गएको संकेत गरे ।
उनको टिप्पणीमा भनिएको छ, 'न्यु डाइमेन्सन अफ डेमोक्रेसी भनेर घण्टी बजाइयो, तर न्यु भर्सन अफ नर्थ कोरिया बनाइयो।'
त्यसैगरी उनले अन्त्यमा 'अब शंख बज्छ रसियन ब्रान्डमा' भन्दै सत्ता अभ्यास र राजनीतिक प्रणालीप्रति थप व्यंग्य गरेका छन्।