रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको नियत गलत नभएको बताएका छन्।
शनिबार रौतहटका नेता तथा कार्यकर्तासँगको भेटमा सीमा क्षेत्रमा लागू गरिएका सरकारी निर्णयका कारण जनजीवन प्रभावित भएको गुनासो आएपछि उनले सरकारले जनतालाई अप्ठ्यारो पार्ने उद्देश्यले निर्णय नगरेको बताएका हुन्।
उनले कुनै निर्णयले व्यवहारमा समस्या सिर्जना गरे त्यसलाई आवश्यकताअनुसार सच्याउन सकिने उल्लेख गर्दै सरकारका निर्णय अपरिवर्तनीय नभएको बताए।
लामिछानेले भने- 'सरकारले जसका लागि लाभ होस् भनेर निर्णय गरेको छ, त्यो निर्णयले लाभ होइन हानी भएछ भने त्यसमा निर्णयहरू परिवर्तन हुन्छ। तर अलिकति समय हामीले दिनुपर्छ । कहिलेकाहीँ व्यवहारमा उतार्नका निमित्त केही काम हो, त्यसले धेरै ठूलो ड्यामेज गर्यो भने त त्यसलाई रातारात परिवर्तन गर्नुपर्छ।'
लामिछानेले किसानको हितका लागि गरिएको निर्णय व्यवहारमा किसानकै विपक्षमा गएमा त्यसलाई तत्काल सुधार गर्नुपर्ने बताए ।
उनले थप भने- 'दुई–चार वटा निर्णयले विवाद ल्याउन सक्छ। गर्दै जाँदा व्यवहारमा किसानको पक्षमा निर्णय गर्छु भन्दा त्यही निर्णय किसानको विपक्षमा भइदियो भने करेक्सन गर्न सकिन्छ।'
उनले सरकारका निर्णयले अपेक्षित लाभ नदिई हानि पुर्याएमा त्यस्ता निर्णय परिवर्तन हुने भएकाले चिन्ता नगर्न आग्रह गरे ।
साथै किसान, मजदुर तथा विपन्न वर्गलाई असर पर्ने नीति कार्यान्वयनमा देखिए सरकार त्यसलाई संशोधन गर्न तयार रहने उनको भनाइ थियो।