चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले पार्टीले अहिलेसम्म पूर्ण परिपक्क राजनीति गर्न नसकेको स्वीकार गर्दै त्यसलाई कमजोरीका रूपमा आत्मसमीक्षा गरेका छन् ।
उनले यो अपरिपक्वता गलत नियतका कारण नभई नयाँ राजनीतिक शक्तिका रूपमा अनुभवको अभावका कारण भएको स्पष्ट पारे।
प्रथम महाधिवेशनबाट निर्वाचित भएपछि शुक्रबार आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै लामिछानेले लोकतान्त्रिक गणतन्त्रप्रति आफ्नो पार्टी पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्याए । उनले रास्वपाको असहमति व्यवस्था परिवर्तनमा नभई शासकीय सुधारमा केन्द्रित रहेको बताए।
‘हामीले परिपक्क राजनीति गर्न सकेका छैनौं, त्यो स्वीकार गरेका छौं। तर त्यो गलत नियतले होइन, नयाँ भएकाले केही असहज भएको हो। लोकतान्त्रिक गणतन्त्र जोगाउने विषयमा कसैले शंका नगर्नुहोस्। हामी दृढ छौं। हाम्रो असहमति शासकीय सुधारका विषयमा हो, यही व्यवस्थाभित्र रहेर सुधार गर्छौं,’ उनले भने।
लामिछानेले पार्टीका नेता तथा सांसदहरूलाई सार्वजनिक अभिव्यक्ति दिँदा थप जिम्मेवार बन्न निर्देशनसमेत दिए।