धनगढी । धनगढी उपमहानगरपालिका–१७ उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरी तीन दिनपछि हत्या गरिएको अवस्थामा मृत फेला परेका छन् ।
बुधबार साँझदेखि बेपत्ता भएका तनुजको खोजीका क्रममा शुक्रबार स्थानीय जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा खोजतलास गर्ने क्रममा उनको शव भेटिएको हो । प्रहरीका अनुसार घटनास्थल नजिकै बालकले चढ्दै आएको साइकल तथा रगत लतपतिएको ढुंगा पनि फेला परेको छ ।
शव आधा सडिसकेको अवस्थामा भेटिएको हो । घटनापछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले घटनास्थल सिल गरेर प्रमाण संकलन तथा आवश्यक अनुसन्धान अघि बढाएको छ।
हत्या कसले र किन गर्यो भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।