काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानिखोला गाउँपालिका–२, खानिडाँडामा ड्युटीमा खटिएका एक प्रहरी कर्मचारीको लडेर मृत्यु भएको छ ।
प्रहरी चौकी फलामेटार, काभ्रेमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार रामकृष्ण खड्का आइतबार दिउँसो गोरेटो बाटोबाट करिब २५ मिटर तल सडकमा लडेको अवस्थामा मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार उनी सूचना संकलन तथा निर्वाचनसम्बन्धी प्रहरी भर्ना सूचनाको प्रवाहका लागि सो क्षेत्रमा खटिएका थिए।
स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी चौकी फलामेटार र तालढुंगाबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखी जिल्ला प्रहरी कार्यालय काभ्रेलाई जानकारी गराएको थियो।
घटनास्थलको मुचुल्का तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय देविटार र जिल्ला प्रहरी कार्यालय काभ्रेको टोली खटिएको छ।
दोलखा जिल्लाको शैलुङ गाउँपालिका–५ स्थायी घर भएका खड्का यही पुस ९ गतेदेखि प्रहरी चौकी फलामेटारमा कार्यरत थिए। घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।