धनगढी । ड्युटीकै क्रममा अचानक बिरामी परेका नेपाल प्रहरीका जवान गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ ।
कञ्चनपुरस्थित महेन्द्रनगर वडा प्रहरी कार्यालयमा दरबन्दी भई हाल डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत जोशीको आइतबार बिहान कैलालीको गोदावरी नगरपालिका–अत्तरियास्थित अत्तरिया अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
डडेल्धुराको जोगबुडा घर भएका जोशी असार २७ गते राति प्रहरी चौकीअगाडि रहेको इन्ट्री पोस्टमा ड्युटीमा रहेका बेला अचानक पेटमा असह्य दुखाइ भएपछि तत्काल जिल्ला अस्पताल डोटी लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि अत्तरिया अस्पताल रेफर गरिएको थियो ।
लगातार उपचार भइरहेकै अवस्थामा आइतबार बिहान उनको मृत्यु भएको हो। मृत्युको यथार्थ कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।
उनको शवको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा लगाइएको छ ।