Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • हाइटीका राष्ट्रपति हत्याबारे अनुसन्धान तीब्र, प्रधानमन्त्रीलाई देश छाड्नमा रोक

    हाइटीका राष्ट्रपति हत्याबारे अनुसन्धान तीब्र, प्रधानमन्त्रीलाई देश छाड्नमा रोक

    अनलाइन नेपाल
  • बुधबार, ३० भाद्र २०७८
  • 1.1K
    SHARES

    एजेन्सी। हाइटीमा जुलाई पहिलो साता राष्ट्रपति जोभनेल मोइजको हत्यामा संलग्न रहेको हुनसक्ने विषयबारे भइरहेको अनुसन्धानकाबीच प्रधानमन्त्री एरिअल आङ्ग्रीलाई देश छाड्नमा रोक लगाइएको छ।

    एकजना अभियोजनकर्ताले आङ्ग्रीविरुद्ध अभियोग लगाउन खोजिरहेका छन् । उनलाई हत्याका मुख्य सन्दिग्ध जोसेप फेलिक्स बाडिओसँगको सम्बन्ध स्पष्ट पार्न भनिएको छ।



    रेकर्डहरूका अनुसार ती दुईबीच हत्यापछि पटक-पटक टेलिफोन संवाद भएको देखिएको अभियोजनकर्ताहरूले बताएका छन्। मोइजलाई गत जुलाई ७ तारिखमा आफ्नै निवासमा बन्दुकधारीहरूले आक्रमण गरेका थिए।



    उनको मृत्युले हेइटीमा राजनीतिक सङ्कट निम्त्यायो जुन एक महिनाअघि दक्षिणी भागमा गएको ठूलो भूकम्पका कारण झनै बढ्यो। सोमवार आङ्ग्रीले एउटा पत्रमार्फत प्रमुख अभियोजनकर्ता बेड-फोर्ड क्लोडलाई ‘गम्भीर प्रशासनिक गल्ती’ गरेको आरोप लगाउँदै पदबाट बर्खास्त गरे।

    पछि उनले अर्का व्यक्तिलाई त्यो पदमा नियुक्त गरे। तर मङ्गलवार क्लोडले प्रमुख अभियोजनकर्ताकै रूपमा काम गरे। उनले मोइजको हत्याको मुद्दा हेरिरहेका न्यायाधीशसँग प्रधानमन्त्रीलाई घटनाको ‘सन्दिग्ध’का रूपमा अभियोग लगाउन आग्रह गरे।

    हाइटीबारे जानकारहरूका अनुसार प्रधानमन्त्रीसँग अभियोजनकर्तालाई पदमुक्त गर्ने अधिकार छैन। कैयौँ धम्कीका कारण हाइटीको न्याय मन्त्रालयले क्लोडलाई थप सुरक्षाकर्मी उपलब्ध गराउन निर्देशन दिएको छ।

    विवाद

    ५३ वर्षका मोइज सन् २०१७ देखि उत्तर अमेरिकी महादेशको सबैभन्दा गरिबमध्येको देश हाइटीका राष्ट्रपति थिए।

    भ्रष्टाचारको आरोपको सामना गर्नु परेको र राजधानीसहित देशका विभिन्न सहरहरूमा यसै वर्षको सुरुमा प्रदर्शनहरू भइरहेकाले उनको कार्यकाल विवादमुक्त थिएन।

    सन् २०१९ को अक्टोबरमा नै चुनाव गर्नुपर्ने भए तापनि विवादहरूका कारण त्यसमा विलम्ब भइरहेको थियो र उनले उर्दीका भरमा शासन चलाइरहेका थिए।

    प्रस्तावित संवैधानिक परिवर्तनका लागि उनले सेप्टेम्बरमा जनमत सङ्ग्रह गराउने योजना गरेका थिए।

    हाइटीको प्रहरीले उनको हत्यामा संलग्न अधिकांश भाडाका हमलाकारी कोलम्बियाका नागरिक रहेको र दुईजना संयुक्त राज्य अमेरिकाको नागरिकता भएका व्यक्ति रहेको जनाएको थियो।

    आक्रमणकारीका रूपमा आरोपितमध्ये ४४ जनालाई पक्राउ गरिसकिएको छ। ती मध्य १८ जना कोलम्बियाका अवकाश प्राप्त सैन्य अधिकारी हुन। तीनजना सन्दिग्ध हमलाकारीको प्रहरीसँगको भिडन्तमा ज्यान गएको बताइएको छ। (बीबीसीको सहयोगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार