Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अफगानिस्तानमा चरम मानवीय संकट: भोक मेटाउन बाबुआमाले ५ सय डलरमा आफ्नै छोरीलाई बेचे

एजेन्सी । अफगानिस्तानले यतिबेला विश्वमै सबैभन्दा ठूलो मानवीय संकटको सामना गरिरहेको छ । गत अगस्ट महिनामा तालिबानले सत्ता कब्जा गरेपछि वैदेशिक सहयोग रोकिँदा अफगानिस्तान चरम आर्थिक संकट चुलिएको हो ।

यसैबीच, बीबीसीले तयार पारेको एक भिडियो रिपोर्टमा पश्चिमी अफगानिस्तानको हेरात र वरपरका ग्रामीण क्षेत्रको अवस्था चित्रण गरिएको छ । बीबीसीकी योगिता लिमायले तयार पारेको उक्त रिपोर्टमा हेरातस्थित एमएसएफद्वारा सञ्चालित एक अस्पतालको दयनीय अवस्था देखाइएको छ ।

बीबीसीको रिपोर्ट अनुसार विदेशी सहायता रोक्का भएपछि कम्तिमा १० लाख बालबालिका मृत्युको जोखिममा परेका छन् । हेरात वरपरका क्षेत्रमा अवस्था कल्पनै गर्न नसकिने खालको छ । त्यहाँका बासिन्दाहरु छाक टार्नका लागि कल्पनै गर्न नसकिने कार्य गर्न बाध्य छन् । भिडियोमा भोकमरीबाट परिवारलाई बचाउनका लागि एक शिशु बेचिएको उल्लेख छ ।

छाक टार्नकै लागि आफ्नी छोरी बेच्न बाध्य भएकी आमा भन्छिन्, ‘मेरा अन्य छोराछोरी भोकै मर्ने अवस्था आएपछि छोरी बेच्न बाध्य भयौं ।’ ती महिलाकी सानी छोरीलाई एक व्यक्तिले पाँच सय डलरमा किनेका छन् । ती व्यक्तिले उनकी छोरी हिँड्न सक्ने भएपछि घर लैजानेछन् । किन्ने व्यक्तिले उनलाई आफ्ना सन्तानसँग बिहे गरिदिने पनि भनेका छन् । तर यसबारे ढुक्क हुने अवस्था छैन ।

छोरी बेच्न बाध्य महिलाका पतिले फोहोर उठाउने काम गर्थे । तर हाल आम्दानीको यो स्रोत समेत बन्द भएको छ । ‘हामी भोकभोकै छौं,’ छोरी बेच्न बाध्य बाबु भन्छन्, ‘हाम्रो घरमा न पीठो छ, न खाने तेल । हामीसँग केही पनि छैन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077