Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • उड्ने मोटरसाइकल बनाउँदै जापानले रच्यो इतिहास, मूल्य आठ करोड रुपैयाँभन्दा बढी

    उड्ने मोटरसाइकल बनाउँदै जापानले रच्यो इतिहास, मूल्य आठ करोड रुपैयाँभन्दा बढी

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । जापानमा एउटा ‘स्टार्टअप कम्पनी’ ले होभरबाइक भनिने आकाशमा उड्ने मोटरसाइकल निर्माण गरेको छ। त्यसको मूल्य छ लाख ८० हजार डलर अर्थात् झन्डै आठ करोड १६ लाख नेपाली रुपैयाँ राखिएको छ।

    निर्माता एएलआई टेक्नोलजीजले मानिसहरूले कार छोडेर आफ्नो उत्पादन प्रयोग गर्ने अपेक्षा गरेको छ। होभरबाइकको ‘एक्सटुरिज्मो लिमिटिड इडिशन’ बुधवारदेखि जापानी बजारमा उपलब्ध भएको हो।



    इलेक्ट्रोनिक्स कम्पनी मित्सुबिशी र चर्चित फुटबल खेलाडी केइसुके होन्डा टोक्योस्थित उक्त कम्पनीका लगानीकर्ता हुन्। एकचोटि चार्ज गरेपछि यो होभरबाइक १०० किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटसम्म उड्न सक्ने एएलआई टेक्नोलजीजले जनाएको छ।



    आगामी वर्षको मध्यसम्ममा एक जना चढ्न मिल्ने ३०० केजी तौल भएका २०० वटा होभरबाइक उत्पादन गर्ने निर्माता कम्पनीको लक्ष्य छ। प्रत्येक होभरबाइकमा एउटा परम्परागत इन्जिन र ब्यटरीजडित चारवटा मोटरहरू छन्।

    ‘अहिलेसम्म जमिनमा र आकाशमा यात्रा गर्न सिमित विकल्प मात्र थियो,’ एएलआई टेक्नोलजीजका प्रमुख कार्यकारी दाइसुके कातानोले भने। ‘अब हामी यात्राका लागि एउटा नयाँ विधि दिन चाहन्छौँ।’

    टोक्योमा एक करोड ३५ लाख मानिस बस्छन् । त्यहाँ भिडभाड एउटा ठूलो समस्याका रूपमा देखा परेको छ। उच्चस्तरीय प्रविधियुक्त जापानी राजधानीलाई विश्वकै सर्वाधिक जनघनत्व भएको महानगरीय क्षेत्र मानिन्छ।

    तर, जापानको विद्यमान कानुनले देशका व्यस्त सडकमाथिबाट उड्न अनुमति दिँदैन। यद्यपि कातानोले अहिलेका लागि उद्धारकार्यमा खटिने टोलीहरूले दुर्गम स्थानमा पुग्न ती उड्ने बाइक प्रयोग गर्न सक्ने अपेक्षा गरेका छन्। (बीबीसीको सहयोगमा)

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार