Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राहदानी विभागको नौटंकी, ‘इमर्जेन्सी’ पासपोर्ट लिन १० दिन पछिको टोकन

    राहदानी विभागको नौटंकी, ‘इमर्जेन्सी’ पासपोर्ट लिन १० दिन पछिको टोकन

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 4.9K
    SHARES

    काठमाडौं । राहदानी अर्थात पासपोर्ट सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुबाट जारी हुन्छन् । जसरी नागरिकता जिल्ला प्रशासन कार्यालयबाट जारी हुन्छ पासपोर्ट पनि त्यसैगरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट हुँदै आएका छन् । तर, सरकारले छिटो (इमरजेन्सी) सेवाका लागि राहदानी विभागको स्थापना गरेको छ । राहदानी विभागबाट इमर्जेन्सी सेवा मार्फत १ दिन, २ दिन र ३ दिनमा राहदानी वितरण हुँदै आएको छ । तर, अहिले त्यस्तो सेवा कसैले पनि पाउन सकेका छैनन् ।

    कार्तिक १४ गते आइतबार नारायणहिटी संग्राहलयको पश्चिमतर्फ रहेको राहदानी विभागमा इमरजेस्सी सेवामार्फत पासपोर्ट बनाउने सेवाग्राहीहरुको लाइन लामै थियो । पासपोर्ट बनाउनेहरूको लर्काे काठमाडौंस्थित विभागको कार्यालयदेखि उत्तर ढोकासम्म दोहोरो लाइन थियो । त्यसमाथि विभाग परिसभित्र दुबैपछि नागवेली जस्तै घुमेको लाइनमै झण्डै २ हजारको लाइन थियो ।



    एक दिनमै पासपोर्ट बन्ने आशमा विहान ३ बजेदेखि नै लाइन बसेकाहरुले पासपोर्ट बनाउन त परै जाओस्, ११ घण्टा लाइन बसेर ९ दिन पछिको टोकन नम्बर लिएर फर्कन बाध्य भए उनीहरु । अझ अन्तिममा रहेकाले त ११ दिन पछिको टोकन पाएको बताइएको बताए ।



    राहदानी विभागले आफ्नो वेभसाइटमा इमर्जेन्सी सेवा भन्दै तीनवटा कोटामा दस्तुर तोकोको छ । जसअन्तर्गत तीन दिनमा राहदानी लिनका लागि १० हजार, दुई दिनमा राहदानी लिनका लागि १२ हजार, र एक दिनमा राहदानी लिनका लागि १५ हजार रुपैयाँ तोकेको छ । इमरजेन्सी सेवा प्रदान गर्न स्थापना भएको विभागले ११ दिन पछिको टोकन दिएर पठाउँदा समेत परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भने अत्तोपत्तो छैन ।

    तीन दिन भित्र राहदानी बनाउनका लागि बाहिरी जिल्लाबाट मंगलबार नै आएका कतिपयले त बल्ल आइतबार टोकन पाए । त्यो पनि ११ दिन पछिको । विभागले मंगलबारदेखि नै टोकन बाँडेको थिएन । एकातिर चार दिन अघिदेखि लाइन बसेका सेवाग्राही त अर्कोतिर अमेरिकी डिभी चिठ्ठा भर्नका लागि छिटो पासपोर्ट लिन आएका सेवाग्राहीका कारण लाइन एकदमै लामो भएको विभागको भनाई छ ।

    त्यसो त विभागले अहिले २४ घण्टाभित्र पासपोर्ट वितरण गर्ने कार्य नै बन्द गरेको छ । ११ घण्टासम्म लाइन बसेकाहरुको बीचमा छिरेर आइतबार एक प्रहरीले माइकिङ नै १ दिन र २ दिनमा पासपोर्ट दिने कार्य बन्द भएको र बनेपनि ३ दिनमा मात्रै बन्ने जनाएका थिए । त्यसपछि त झन एकदिनमै पासपोर्ट लिन लाइन बसेकाहरु झसंग भए । बल्लबल्ल ११ दिन पछिको टोकन पाइने त्यसमा पनि अझै पासपोर्ट बनाउन ३ दिन लाग्ने भनेपछि विभागले इमरजेन्सी सेवा अन्तर्गत १५ दिनमा पासपोर्ट दिंदै आएको पाइयो । सबैभन्दा अचम्म लाग्दो कुरा त आइतबार टोकन लिन (सम्बन्धित मितिको छाप लगाउन) कै लागि ११ घण्टासम्म लाइन बसेको देख्दा विभागको काम गराइप्रति प्रश्न नउठाउने कोही भएन ।

    फर्ममा छाप लगाउन पनि कति समय लागेको भन्दै लाइनमा कराउनेहरुको संख्या ठूलै थियो । तर, विभागको कानमा भने उक्त कुरा छिर्न सकेन । त्यसको त आइतबार मिडियाहरुको पनि उपस्थिति बाक्लै थियो । तर, सेवाग्राहीको पीरमर्का सुन्ने भने कोही भएन ।

    वैदेशिक रोजगारको लागि होस् या विदेश जानको लागि राहदानी अनिवार्य हुन्छ । पछिल्लो दुइ महिना यता राहदानी बनाउनेको संख्या अत्यधिक बढेको छ । राहदानी विभागमा भिड बढ्दा सेवाग्राहीले सधै जसो सास्ती बेहोर्नु परिरहेको छ । आइतबार पनि राहदानी बनाउने लाइनमा युवा–युवतीहरु बढी देखिन्थे । छिटै पालो आउने आशमा कतिपय सेवाग्राहीहरु विहान १ बजेबाटै लाइन बस्न आएको बताइरहेका थिए । ६ बजे आएर लाइन बस्नेहरुको टोकन लिने पालो भने २ बजे आएको थियो । लाइन बसेर टोकन लिएपछि मात्र राहदानीका लागि प्रक्रिया सुरु हु्न्छ । टोकन लिनकै लागि ११ घण्टा लाइनमा बस्नुपर्ने बाध्यता छ ।

    नयाँ राहदानी लिने मात्र नभई पुरानो नविकरण गर्ने, राहदानी हराएका देखि विभिन्न समस्यामा परेका सेवाग्राही लाइनमा थिए । दैनिक हजार जना सेवाग्राहीलाई सेवा दिन सक्ने क्षमता भएको विभागमा पछिल्लो समय दैनिक ८ सय जनालाई सेवा प्रदान गरिरहेको छ । तर, इमरजेन्सी सेवा भने नाममात्रैको भएको छ ।

    विभिन्न जिल्लाका सेवाग्राहीहरु छिटो छरितो राहदानी बनाउने आशले गर्दा केन्द्रिय राहदानी विभागमा आएका हुन् । जसकारण विभागमा भने राहदानी बनाउनेका भिड अत्यधिक छ । भिड बढेपछि विभागले सोहि अनुसारको काम गर्नुपर्नेमा विभाग भने आफ्नै लयमा अगाडी बढिरहँदा सेवाग्राहीले सास्ती खेप्नु परिरहेको छ ।

    विभागमा यति ठूलो लाइन हुँदा समेत सेवाग्राहीका लागि बनाइएको शौचालयमा भने ताल्चा लगाइएको थियो । विहान ३ बजेदेखि नै लाइन बसेकाहरु शौचालय जान नपाएर छटपटाइरहेका थिए । यसबारे त्यहि रहेका प्रहरीलाई किन ताल्चा लगाएको भनेर हामीले प्रश्न गर्दा शौचालय जाने बहानामा लाइन मिचिएकाले बन्द गरेको भन्ने जवाफ पाइयो ।

    पहिलो कुरो त लाइन मिलेर बस्ने जिम्मा स्वयम् सेवाग्राहीकै हो । यदि त्यसो हुन नसकेको खण्डमा त्यहाँ सुरक्षाकर्मी खटाइएको छ । उनीहरुको काम त्यहि लाइन मिलाउने हो । शौचालय बन्द गर्ने होइन् ? यसबारे पनि विभाग मौन नै बसेको छ । ‘सेवा नै दिन नसक्ने भएपछि किन इमरजेन्सी सेवा भनेर विभाग सञ्चालन गर्नु ? इमर्जेन्सी सेवा नै बन्द गरे भैगो नि ।’ धादिबाट आएका २२ वर्षिय विशला परियारले भने ।

    छिटो पासपोर्ट बनाउनका लागि बाहिरी जिल्लाबाट आएर होटलमा बसिरहेकादेखि शनिबार बेलुका नाइट बसमा आएर सिधै लाइन बस्न आएकाहरु पनि लाइनमा भेटिए । बुटवलबाट आएक एक किशोरी भन्दै थिइन्–हिजो ७ बजेपछि पेटमा केही परेको छैन । अहिले १ बजिसक्यो । पालो कहिले आउने पत्तो छैन ।’ यसरी सेवाग्राहीले सास्ती भोगिरहेको विषयमा विभगका महानिर्देशक डोरनाथ अर्यालसँग वा प्रवक्ता शरदराज आर्यनसँग कुरा गर्न खोज्दा विभागको फोन उठेन । हरेक सरकारी कार्यालयले आफ्नो वेभसाइटमा प्रवक्ताको व्यक्तिगत नम्बर नै उल्लेख गर्ने भएपनि विभागको वेससाइटमा भने प्रवक्ताको छुट्टै नम्बर छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार