डा. प्रकाशशरण महत नेपाली कांग्रेसका सहमहामन्त्री हुन् । उनी नेपाल विद्यार्थी सङ्घको महामन्त्री, नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुँदै पछिल्लो कार्यकाल सहमहामन्त्री छन् । संविधानसभा सदस्य उनले संविधान निर्माण मस्यौदा कार्यदलको सदस्यका रूपमा पनि काम गरेका छन् । उनीसँग परराष्ट्रमन्त्री र ऊर्जामन्त्रीका रूपमा काम गरेको अनुभव छ । आफ्नो पार्टी तथा सार्वजनिकरूपमा समसामयिक एवं राजनीतिक विचारहरू राख्नसक्ने स्पष्ट वक्ताका रूपमा डा महत परिचित छन् । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा महामन्त्रीमा उठ्ने घोषणा गरेका डा महतसँग महाधिवेशनमा केन्द्रित रहेर गरिएको कुराकानीको केही अंश यहाँ प्रस्तुत गरिएको छ ।
अर्काे कुरा उहाँले पार्टीका सम्पूर्ण निर्णयहरू सहमतिबाटै गर्ने कोसिस गर्नुभयो । ती निर्णयहरूमा पार्टीभित्र सर्वसम्मति हुन नसक्दा कतिपय निर्णयहरू समयमा हुन सकेनन् र यसका कारण कतिपय सङ्गठनात्मक काममा सुस्तता पनि आयो । पार्टीमा आफ्नो पक्षमा बहुमत भए पनि बहुमतबाट नभएर सबै निर्णयहरू सहमतिबाटै गर्ने उहाँको नीति थियो । यसैले पार्टीलाई एकताबद्ध बनाइराख्यो र पार्टी एकढिक्का भएर नै हामी महाधिवेशनमा जाँदैछौँ । यो नै पार्टी सभापतिको बुद्धिमत्तापूर्ण निर्णय हो भन्ने मैले ठहर गरेको छु । अब हिजो जेजस्तो भए पनि आसन्न महाधिवेशनपछि पार्टी चुस्त रुपमा सबै निर्वाचनहरुमा एक भएर जाने छ ।
भ्रातृ सङ्गठनका अधिवेशनहरू पनि सुुरुका दिनमा अघि बढेकै थिए । तर पनि मैले पहिले भनेजस्तै त्यसमा पनि पार्टीभित्र सबैको सहमति जुटाएर लैजानेभन्दा त्यसमा शिथिलता आएको हो भन्ने मलाई लाग्छ । यी कार्यमा पनि सभापतिजीले बहुमतको निर्णय गरेर अघि बढ्न चाहनुभएन तर सर्वसम्मति पनि जुट्न सकेन । जसका कारण यी कार्य पनि समयमै अघि बढ्न सकेनन् । जे होस्, अहिले पार्टी एक भएर निर्वाचनमा जाँदैछ, यो पनि एक उपलब्धि नै हो । अहिले हामी महाधिवेशनमा जुटेका छौँ, यो महाधिवेशनले चयन गरेको नयाँ टिमले आगामी कार्यकालमा सशक्त र चुस्तरूपमा काम गर्नेछ र पार्टीलाई नयाँ र सशक्त स्वरुपमा रुपान्तरण गर्नेछ ।
यसैले पनि अहिले हाम्रो अधिवेशन जुन वडादेखि भयो त्यो हेर्नोस् न एउटा उत्सवजस्तै छ । यहाँ ठूलो सहभागिता छ कार्यकर्ताहरूको । हाम्रो पार्टीभित्र भएको यो लोकतान्त्रिक अभ्यास अरु कुनै पार्टीमा कतै छैन, हाम्रो पार्टीमा मात्र भएको छ । यो आन्तरिक पार्टीमा हुने लोकतान्त्रिक अभ्यास मैले जानेबुझेसम्म नेपालमा मात्र नभएर संसारका कुनै पनि देशमा छैन होला । जसरी हामीले सबै अट्ने देश सबैलाई जोड्ने कांग्रेस भनेर पार्टीका नारा राखेका छौँ, हामीले निर्माण गरेको विधानले पनि यही भावनालाई मुखरित गर्न खोजेको छ । सबैको सहभागिता रहने यो लोकतान्त्रिक विधानको निर्माणमा हामी लाग्यौँ र यसले सबैलाई सबै हिसाबले सम्बोधन गरेको छ भन्ने मेरो अनुभव छ ।
पार्टीभित्रको यो उहाँको नीति देशको राष्ट्रिय राजनीतिमा पनि लागू हुन्छ । उहाँ कसले के भने भनेर त्यसको पछि–पछि लागेर प्रतिवाद गर्नेतिर कहिल्यै लाग्नुभएन । देशको राजनीति कतातिर गइराखेको छ त्यसको सुक्ष्म यकिन गर्न सक्ने नेतृत्वका रूपमा उहाँले काम गर्नुभयो त्यसैले त उहाँले अहिले देशको कार्यकारीका रूपमा नेतृत्व गर्न सफल हुनुभएको छ । जस्तै भन्नु न देशमा नेपाली कांग्रेसको बढी मत भए पनि सांसद सङ्ख्याका आधारले गर्दा कम्युनिष्टहरू सरकार निर्माणमा बलिया थिए । तपाईँले पनि सुन्नुभयो नि उनीहरू अब देशमा ५० वर्षसम्म कम्युनिष्ट पार्टीले शासन गर्छ भनेर भाषण गर्दै हिँड्थे । तर उनीहरूले यही एउटै कार्यकालको भार पनि थेग्न नसकेर राजनीतिक सङ्कटबाट देशलाई बचाउन देउवा नै आउनुप¥यो । हामी त संसद्मा सानो थियौँ । तर पनि नेपाली जनताले त स्पष्टरूपमा कांग्रेसले नै देश हाँक्न सक्छ भन्ने खाँचो महसुस गरे नि । त्यसैले उहाँ नै सरकारको नेतृत्व गर्न अघि बढ्नुप¥यो । देशको संसद् बचाउन उहाँ नै अघि सर्नुप¥यो । उहाँमा पार्टीमा जस्तै देशमा पनि विभिन्न राजनीतिक दलहरूलाई पनि मिलाएर लान सक्ने, उदारतापूर्वक प्रस्तुत हुने गरेकाले नै तपाईँले नेतृत्व गरिदिनुप¥यो भनेका हुन् । त्यसैले अब आउने निर्वाचनमा पनि पार्टीलाई जिताएर लैजान र पार्टीेभित्रका असन्तुष्टि र विग्रहलाई पराकाष्ठामा लैजान नदिनका लागि नेपाली कांग्रेसमा पनि अबका दिनमा उहाँजस्ता नेतृत्वको आवश्यक छ । उहाँले भनिरहनुभएको पनि छ, त्यतिबेला कम्युनिष्टहरू मिल्दा कांग्रेसले हार ब्यहोर्नुप¥यो, अब सभापति भएर पार्टीलाई ठूलो पार्टी बनाउँछु र अबका निर्वाचनमा जिताउँछु । यसका लागि पनि आउँदो अधिवेशनमा उहाँलाई नै जिताउनुपर्छ ।
हेर्नोस्, मैले जहाँ जिम्मेवारी लिन्छु त्यहाँ पूर्ण समर्पण र लगावका साथ काम गर्छु, गरेकै छु । म पार्टीमा रहँदा होस् या सरकारमा होस् मैले निष्ठा र पूर्ण लगावका साथ काम गर्ने गरेको छु । स्कुले जीवनदेखि पछिल्लो आन्दोलन, २०६२÷६३ को जनआन्दोलनसम्म नै मैले पार्टीको काम निष्ठापूर्वक गरेको छु । नेविसङ्घको स्कुल एकाइदेखि लिएर पार्टीको सहमहामन्त्रीसम्म मैले निष्ठाका साथ काम गरेको छु ।
जस्तो कि पार्टीले मलाई जिम्मा दियो, नेविसङ्घको अघिल्लो कार्यकालको अधिवेशन गराएँ । जुन बडो कठिन अवस्था थियो, तर मैले पाएको जिम्मेवारीलाई पूरा गरेँ, अधिवेशन सम्पन्न गराएँ । पार्टीले कोभिडको समयमा पनि मेरो संयोजकत्वमा कोरोना समिति गठन ग¥यो र काम लगायो । मैले कोभिड महामारी भनिन । हिमालदेखि तराईसम्म पुगँे र अनुगमन गरेँ, काम गरेँ र पार्टी र सरकारलाई रिपोर्ट पनि बुझाएँ । त्यसैगरी सहमहामन्त्रीको जिम्मेवारी जुन दिइएको थियो, त्यसप्रति पनि मैले न्याय गरेको छु । यस पदको जे–जस्तो गरिमा र जिम्मेवारी हो त्यो मैले कुशलतापूर्वक बहन गरेकै छु ।
ऊर्जामन्त्री रहँदा अपर तामाकोसीलाई देशभित्रकै साधन, स्रोत परिचालन गरेर स्वदेशी पूँजीमा निर्माण गर्ने भनी अघि बढाउने निर्णय मैले नै गरेको हो । वास्तावम त्यतिबेला त्यो आयोजना अघि बढ्ने अवस्था पनि थिएन । मेरो अवधारणाअनुसार नै आज त्यो प्रोजेक्टले पूर्णता पायो र उत्पादन हुन थलेको छ । त्यसबेला नेपालमा ठूलो लोडसेडिङको अवस्था थियो । तर नेपालमा आयोजनाहरू उत्पादन हुने अवस्था बनिसकेको थिएन । देशको यो अवस्थालाई मध्यनजर गरेर नै आयोजनालाई प्रोत्साहित गर्ने काम गरेँ । यसबाट निजी तथा सरकरी क्षेत्रबाट धेरै विद्युत् आयेजनाहरू अगाडि बढे । माथिल्लो त्रिशूली, तामाकोसी, कुलेखानीलगयात त्यही बेलामै अगाडि बढाएको हो । त्यतिबेलै निजी क्षेत्रमा थुप्रै आयोजनाहरू सुरु भएकाले नै अहिले उत्पादन आउन थाल्यो र हालको उज्यालो नेपाल सम्भव भएको छ ।
त्यसैगरी नेपाल–भारत ट्रान्समिसन लाइन अत्यन्तै सीमित क्षमताका थिए । सीमा क्षेत्रका केही साना बजारहरूलाई आपूर्ति गर्न मिल्ने मात्र खालका थिए । मेरै पालामा ४०० केभिएको ट्रान्समिसन लाइन मुजफर– ढल्केबर आयोजनाको सम्झौता भयो र अगाडि बढ्यो । त्यही लाइनका कारणले नै भारतबाट नेपालमा बिजुली ल्याउन सम्भव भएर अहिले लोडसेडिङ हटाउन सहयोग पुगेको छ ।
त्यस्तै परराष्ट्रमन्त्री हुँदा चीनसँगको बिआरआई सम्झौता मेरै नेतृत्वमा भएको हो । त्यसमा मेरै पहलमा नेपालको स्वार्थ र आवश्यकतालाई अनुकूल हुने गरेर धेरै संशोधन गरेर यो आयोजनामा हस्ताक्षर गरिएको हो । त्यस्तै भारतसँग पनि दुई देशकाबीचका जति पनि मुद्दाहरू छन्, ती सबै एक एक गरेर तथ्य, तथ्याङ्क र आधारसहित तर्कपूर्णरुपमा मैले प्रस्तुत गरेको छु । जस्तै गण्डक सम्झौतामा उल्लेख भएबमोजिम नेपलले पाउनुपर्ने सुविधा नपाएको अवस्था रहेछ । त्यो कुरा मैले उठाएँ र त्यसपछि दुई देशका विदेशमन्त्री तहमा एक समझदारीमा हस्ताक्षर भयो र त्यहाँ पूरा नभएका कुराहरू भारतले पूरा गर्ने भन्ने सहमति भयो । त्यस्तै गरेर अन्य सन्धि, सम्झौता या महाकालीदेखि सिँचाइ आयोजनासम्मका कुराहरूमा पनि मैले सम्झैता गराएँ जुन अहिले अगाडि बढिरहेको छ । त्यस्तै वर्षायाममा सधैँ सीमा क्षेत्रमा बाढीका कारण डुबानमा पर्ने गर्दछ । त्यो विषयमा पनि मैले उठाएँ र पानीको जुन प्राकृतिक बहाव छ त्यसलाई स्वभाविकरूपमा जसरी जान्छ त्यसरी जान दिनुपर्छ भन्ने कुरा राखेँ । त्यसछि द्विपक्षीय संयन्त्र निर्माण गर्ने र मेचीदेखि महाकालीसम्मको संयुक्त निरीक्षणको आधारमा जहाँ–जहाँ बाधाहरू छन् तिनलई हटाउने भन्ने सहमति भयो । यसरी म पदमा रहँदा खुरुखुरु काम गरेँ, तर प्रचरमा कहिल्यै लागिनँ ।
त्यसैगरी पार्टीको मूल्याङ्कन पद्दति पनि व्यापक परिवर्तन गर्नु जरुरी छ । यस्तो वैज्ञानिक ढङ्गले पार्टीको मूल्याङ्कन पद्दतिको स्थापना र विकास गर्नुपर्छ कि पार्टीको निकै सानो तहको स्थानीय कार्यकर्ताले पनि मलाई पार्टीको नेतृत्वले यथोचितरूपमा सम्बोधन गर्छ, आवश्यक मात्रामा मूल्याङ्कन गर्छ भन्नेबारेमा सुनिश्चित हुने गरी स्थापित गर्नुपर्छ । अहिले हाम्रो पार्टीमा देखिएको गुट–उपगुट कुनै वैचारिक आधारमा या नीतिगत मतभेद भएर होइन यो सबै व्यक्तिगत हो । त्यसैले पार्टीमा यथोचित सम्बोधन गर्ने र कामको मूल्याङ्कनको पद्दति स्थापित गर्न सकियो भने त्यसले यो गुटउपगुटको अवस्था हटाउने छ ।
लोकतान्त्रिक समाजवादी विचार जुन बिपी कोइरालाले नेपाली कांग्रेसमा प्रवेश गराउनुभएको थियो त्यो विचारलाई पनि हामीले संस्थागत गरेर लैजानु छ । यसका लागि कमीले यो लोकतान्त्रिक पद्दतिलाई जीवन पद्दति बनाउनुपर्छ । त्यो अभ्यासलाई नेपाली कांग्रेसले घनिभूत बनाउनुपर्छ । उतिबेलै बिपी कोइरालाले नेपालमा प्रजातान्त्रिक समाजवादको बहस सुरु गर्नुभएको थियो । यसको अर्थ यो हो कि देशमा समृद्धि सिर्जना गर्ने र समृद्धिको पहुँचमा सबै नेपालीलाई पु¥याउने नै हो । अबको पार्टीको विचार र बहसलाई हामीले यसतर्फ पनि परिलक्षित गर्नुछ ।
नेपाली कांग्रेसका हरेक नेता कार्यकर्तालाई हामीले काम पाइएन भन्ने नबनाउन हरेक विभागहरू गठन गर्ने, प्रशिक्षण गाउँगाउँसम्म पु¥याउने । अहिले ठूलो युवापङ्क्ति पार्टीमा जोडिएको छ उनीहरूलाई सङ्गठन निर्माणमा पूर्णरूपमा लगाउने । यसले नेपाली जनताले कम्युनिष्टको कुशासन र बेथिति जुन जनताले देखेका छन् त्यसको पनि भण्डफोर गर्ने । नेपाली कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने अवस्था हामीले पार्टीलाई पु¥याउनुपर्छ । त्यसपछि हामीले अबका सबै चुनावहरूमा कांग्रेसले एक्लै बहुमत ल्याउन सक्छ । त्यही ढङ्गबाट अब पार्टीलाई अघि बढाउनुपर्छ । अहिले पार्टीले आन्तरिक लोकतान्त्रिक अभ्यास गर्दा निर्वाचनको एक प्रकारको तरङ्ग आएको छ, यसलाई अबका निर्वाचनहरूसम्म नै पु¥याउनुपर्छ र अब आउने सबै निर्वाचनहरूमा कांग्रेसको स्पष्ट बहुमत आउने अवस्था सिर्जना गर्नुपर्छ । यी सबै कामलाई महामन्त्रीजस्तो पार्टीको सक्रिय पदाधिकारीमा रहेर मैले अगाडि बढाउने छु ।
परराष्ट्र सम्बन्ध हामीजस्ता देशका लागि महत्वपूर्ण छ । हामी दुई ठूला मुलुकका बीचमा छौँ । यी दुई ठूला देश भनेका ‘इमर्जिङ पावर’ हुन् । हामीले हाम्रो आवश्यकता र स्वार्थलाई केन्द्रमा राखेर हाम्रो सम्बन्ध विकसित गर्नु जरुरी छ । हामीले हाम्रा कुराहरू हाम्रा मित्र राष्टहरूसँग तर्कसहित अधारसहित राख्न सक्नुपर्छ । त्यसो नगरी हामी भने आफ्ना कुरा राख्ने बेलामा हचुवाका भरमा र कुनै गृहकार्यबिना नै प्रस्तुत हुने गर्दछौँ । यो नै नेपली राष्ट्रियताका लागि घातक हो । हामीले हम्रो राष्ट्रिय स्वार्थमा आधरित विदेश नीति सञ्चालन गर्न सक्यौँ भने त्ये कुरा उनीहरूले पनि बुझ्छन् । किनभने उनीहरूले पनि आफ्ना स्वार्थ र आवश्यकतालाई केन्द्रमा राखेर नै आफ्नो परराष्ट्र नीति सञ्चालन गर्ने गरेका हुन्छन् ।
नेपालप्रति हाम्रा मित्र तथा शक्ति रष्ट्रहरूको ठूलो सद्भाव छ । तर पनि यसको फाइदा हामीले लिन सकेका छैनौँ । हाम्रो यस्तो प्रवृत्ति छ कि राष्ट्रवादका ठूला कुरा जनतातर्फ फर्केर गर्ने र नारा लगाउने तर सम्बन्धित ठाउँमा भने राख्न नसक्ने । यसैले हामीले हाम्रो राष्ट्रिय स्वार्थ पनि पूरा गर्न सकिरहेका छैनौँ र उता हाम्रा मित्र रष्ट्रहरूको सद्भाव प्राप्त गर्न पनि सकेक छैनौँ । म परराष्ट्रमन्त्री हुँदा या यहाँले भनेजस्तै पछिल्लो पटक भारतको भ्रमण गर्दा पनि यी पक्षहरूलाई थप स्पष्ट पार्ने काम मैले गरेको छु ।-रासस