Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप क्रिकेट: बागमतीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौँ । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो। जितका लागि १५६ रनको लक्ष्य पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै १०५ रन मात्र बनाउन सक्यो ।

बागमतीका लागि आदिल खानले सर्वाधिक २७ रनको योगदान गरे । उनले ३३ बल खेल्दै तीन चौका प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले १६ बलमा २३ रन जोड्दा चार चौका हाने । रामनरेश गिरी २२ रनमा अविजित रहे । बलिङतर्फ पुलिसका दीपेन्द्रसिंह ऐरीले पाँच, सागर ढकालले दुई तथा आरिफ शेखले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले पाँच विकेट गुमाएर १५५ रन जोड्यो । पुलिसका लागि ओपनर पवन सर्राफले अर्धशतकीय पारी खेले । उनले ५४ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ५९ रनको योगदान दिए । दिलिप नाथले ३१ तथा अनिल साहले २५ रन बनाए । बलिङतर्फ बागमतीका नन्दन यादव र रिजन ढकालले दुई–दुई र प्रतिस जिसीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077