Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

चितुवा नियन्त्रण गर्न स्वचालित क्यामेरा जडान

कञ्चनपुर । चितुवाले घरपालुवा जनावर खान थालेपछि शुक्लाफाँटा नगरपालिका-२ को जानकारी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको छ ।

चितुवामाथि निगरानी राख्नका लागि दुईवटा स्वचालित क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए । ‘चितुवाको बासस्थान र प्रजाती पत्ता लगाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा क्यामेरा जडान गरेका छौं’, उनले भने, ‘चितुवा कुन ठाउँबाट बस्ती पस्छ, त्यस बारेमासमेत जानकारी हुन्छ, चितुवाको प्रजाति पत्ता लागेपछि विशेषज्ञ बोलाएर नियन्त्रण गर्न सहज हुन्छ ।’

निकुञ्ज कार्यालयबाट अरू क्यामेरासमेत ल्याएर चितुवा बस्ती छिर्ने ठाउँको पहिचान गरी जडान गर्ने कार्य हुने उनले बताए । चितुवाले दुई सातादेखि सो नगरपालिकाका-१ र २ मा गरी स्थानीय किसानले पालेका दुईदर्जन बढी बाख्रा र त्यही सङ्ख्याका गाईका बाच्छाबाच्छी मार्ने र खाने गरेको छ ।

गएराति मात्रै शुक्लाफाँटा नगरपालिका-१ का हर्के सार्कीका चार गोठमा बाँधेका बाख्रा चितुवाले मारेर नोक्सानी पुर्‍याएको छ । निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत, प्रहरी उपरीक्षक, जनप्रतिनिधिलगायतको टोलीले चितुवाले क्षति पुर्‍याएको क्षेत्रको अवलोकनसमेत गरेका छन् ।

‘चितुवाले भविष्यमा एक खालको दुर्घटना निम्त्याउने खतरा रहेको छ’, प्रहरी निरीक्षक बोहराले भने, ‘नियन्त्रण गर्नुबाहेक अर्को विकल्प छैन, त्यसै कुरालाई मध्यनजर गरी स्थानीय बासिन्दालाई सचेत पार्ने कार्य गरेका छौं ।’ प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी विद्यमान साधनस्रोतको प्रयोग गरी चितुवा नियन्त्रणका लागि कार्य अगाडि बढाइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077