काठमाडौं । आफ्नो पार्टीको विरोधका बाबजुद एमसीसी सम्झौताको दबाफार छलफलमा संसदमा भाग लिएका नेकपा एमालेका नेता भीम रावलले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै त्यसलाई संसलबाट पारित गर्न नहुने बताएका छन् ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) एक ठग पत्र भएको आरोप लगाउँदै उनले यो अन्तर्राष्ट्रिय कानुन विपरीत भएको दाबी गरे ।
संसद बैठकमा बोल्दै पूर्व गृहमन्त्री समेत रहेका रावलले एमसीसीका हरेक दफा र धारा कसरी राष्ट्रिय हित विपरीत छन् र त्यसले कसरी राष्ट्रियता र स्वाधिनतामा आघात पुग्छ भन्नेबारे जवाफ दिन आफू तयार रहेको बताए ।
उनले भने–‘प्रधानमन्त्री शेरबहादुर देउवा जी र उहाँका सल्लाहकारहरू आउनुस् मलाई आधा घण्टा समय दिनुस् । एमसीसीको मूल सम्झौता, कार्यान्वयन सम्झौता र त्यसका धारा दफाले नेपालको स्वतन्त्र परराष्ट्र नीति र स्वाधिनतामा कसरी आघात पुर्याउँछन् म प्रमाणित गरिदिन्छू । के मलाई समय दिइन्छ ? को विद्वान र को सल्लाहकार हुनुन्छ आउनोस् । प्रत्येक धारा र दफा ल्याएको छु मैले । मलाई थाहा छ जसले हतारमा राष्टि«यताको यति गम्भीर विषयलाई पास गर्न खोज्दै छ यही नै राष्ट्रिय हित विपरीत छ ।’
नेता रावलले कुनै पनि देशप्रति जिम्मेवार सरकारले रातारात संविधान मिचेर यसरी संसद्मा पेस नगर्ने भन्दै एमसीसीप्रति आशंका व्यक्त गरेका थिए । यसवाहेक उनले महाकाली सन्धिको संकल्प प्रस्तावको प्रसंग कोट्याउँदै प्रधानमन्त्री देउवालाई उक्त संकल्प प्रस्ताव माग समेत गरेका थिए ।
उनले भने–‘प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई म सोध्न चाहन्छु । महाकाली सन्धिको संकल्प प्रस्ताव कहाँ छ ? जवाफ दिनोस् ।’